वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधीमण्डल र आन्तरिक राजस्व विभागका महानिर्देशक बीच भेटघाट तथा छलफल
News Desk
Mar-23 , 2022 तारिख 03:47 बेलुका

 काठमाण्डौं, ९ चैत्र । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा सङ्घको प्रतिनिधी मण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशमान शाक्यसँग उनकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ । छलफलका क्रममा सङ्घका अध्यक्ष डा. गुप्ताले मू.अ.कर नलाग्ने वस्तुहरुको स्पष्ट सूची हुनुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गर्नुपर्ने, फिर्ता पाउनुपर्ने मू.अ.करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने, करदाता कानूनी उपचारको प्रक्रियामा रहँदा सो अवधिको थप ब्याज शुल्क नलाग्नु पर्ने, नन–फाइलरको समस्या समाधान गर्नुपर्ने, आय विवरण पेश हुँदा विभिन्न किसिमको लेखा सम्बन्धी त्रुटी हुन जाने भएकोले आय विवरण पेश भएको मितिले १ वर्षभित्र संशोधित आय विवरण पेश गर्ने कानून हुनुपर्ने, राजस्व परामर्श समितिमा सङ्घको प्रतिनिधित्व हुनुपर्ने, राजस्व न्यायाधीकरण र ठूला करदाताको कार्यालय स्थापना वीरगञ्जमा पनि हुनुपर्नेमा लगायतको सुझाव पेश गरे। उनले उद्योगले आफ्नो नाफाबाट वा वित्तीय संस्थाबाट लिएको ऋणको विस्तारिकरण वा विविधिकरण बापत खर्च गरिएको पूँजीगत रकमलाई लगानी प्रोत्साहनको रुपमा पाँच आर्थिक वर्ष भित्र खुद आयबाट कट्टा गर्न सक्ने सुविधा भएमा औद्योगिकरणमा ठूलो सघाउ पुग्नका साथै रोजगारीका थप अवसरको सृजना हुने बताए ।

सो अवसरमा राजस्व अनुसन्धान विभागका महानिर्देशक रितेश मान शाक्यले वीउवासङ्घबाट प्रस्तुत सुझावलाई आफूले सकारात्मक रुपमा लिएको बताउदै राजस्व अनुसन्धान सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिए । उनले वस्तु विविधिकरणका कारण कतिपय वस्तुमा मू.अ.कर लाग्ने नलाग्ने सम्बन्धमा हाल पनि दोधार रहेको परिप्रेक्ष्यमा बहुदर प्रणाली लागु गर्न झन् जटिल हुने भएकोले समय सापेक्ष बहुदर प्रणाली लागु गर्दै जाने उल्लेख गरे ।

भेटघाटको क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, का.स.स. सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।