भारतबाट बिजुली आयात गर्न नसक्दा उद्योगमा अघोषित लोडसेडिङ
News Desk
Mar-24 , 2022 तारिख 11:44 बिहान

काठमाडौँ — १० चैत्र २०७८  

काठमाडौँ , रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा बिहीबार पनि ३ घण्टा मात्रै आपूर्ति हुने प्राधिकरणले जनाएको छ । वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । अहिले नेपालले अपुग बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) बाट किनिरहेको छ । आईईएक्सबाट बिजुली किन्दा हरेक दिन बोलकबोल प्रतिस्पर्धा गर्नुपर्छ । बुधबारका लागि बिजुली किन्न प्राधिकरणले मंगलबार आईईएक्सको बोलकबोलमा भाग लिएको थियो । तर, प्राधिकरणले प्रस्ताव गरेको भन्दा भारतीय बजारमा महँगोमा बिजुली बिक्यो । जसकारण प्राधिकरणले बिजुली पाएन ।

मंगलबार प्राधिकरणले ९ भारतीय रुपैयाँ (भारु) मा कबोलेकोमा आईईएक्समा बिजुलीको मूल्य प्रतियुनिट औसत ११.२३ भारु पुगेको थियो । त्यस्तै, बिहीबारका लागि बिजुली किन्न बुधबार भएको बोलकबोलबाट पनि प्राधिकरणले पर्याप्त बिजुली नपाउने भएको छ । ‘हामीले बिहीबारका लागि प्रतियुनिट औसत १२ भारुमा बिडिङ गरेका थियौं तर १५.२७ भारु पुग्यो,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । बिहीबारका लागि नेपालले करिब ३ घण्टा मात्रै बिजुली पाउने भएको उनले बताए । अहिले भारतमा बिजुली निकै महँगिएको र नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि बुधबार पर्याप्त बिजुली नपाएको कार्यकारी निर्देशक घिसिङले बताए । यद्यपि, बिहीबार रातिबाट उद्योगहरूमा पर्याप्त बिजुली आपूर्ति हुने उनको भनाइ छ । ‘महँगोमा बिजुली खरिद गर्नुपर्ने अवस्थाकै बाबजुद पनि हामी बिहीबार रातिबाट उद्योगहरूलाई बिजुली उपलब्ध गराउँछौं,’ उनले भने, ‘ठूला उद्योगीहरू समस्यामा छन् तर घरायसी र अरू उपभोक्ताका लागि बिजुली कटौती गरिएको छैन ।’ भारतबाट महँगोमा बिजुली किनेर सस्तोमा बेच्नुपर्ने अवस्था अझै केही समय रहिरहे प्राधिकरण गम्भीर संकटमा पर्ने उनले बताए ।

‘साता/दस दिनका लागि त महँगोमै ल्याएर भए पनि बिजुली दिन्छौं तर त्यसपछि धान्न सकिँदैन । कि त सरकारले हेर्नुपर्छ, कि त उद्योग नै बन्द गर्नुपर्छ,’ उनले भने । अहिले कुल १६ सय मेगावाट बराबर आन्तरिक विद्युत् माग रहेकोमा साढे ३ सय मेगावाट बिजुली अभाव भएको उनले जानकारी दिए । भारतमा बिजुलीको मुख्य स्रोत कोइला, थर्मल प्लान्ट र प्राकृतिक ग्यास हो । भारतले आफ्नो ७० प्रतिशत बिजुली कोइला उद्योग र थर्मल प्लान्टबाट उत्पादन गर्छ । तर, रुस र युक्रेन युद्धको असर ती वस्तुको आपूर्तिमा परेपछि भारतमा बिजुली महँगिएको हो । भारतले अन्य मुलुकहरूबाट ल्याएको कोइलाबाट उत्पादित बिजुली मात्रै नेपाललाई बेच्ने गरेको छ । भारतभित्रै उत्पादन हुने कोइलाको बिजुली बेच्न नपाउने कानुनी व्यवस्था त्यहाँ रहेकाले पनि नेपालले थप महँगो बिजुली किन्नु परेको उनले बताए । नेपालले अहिले भारतबाट दैनिक साढे ४ सय मेगावाटदेखि साढे ५ सय मेगावाटसम्म बिजुली किनिरहेको छ ।   

आईईएक्समा हरेक १५ मिनेटमा बिजुलीको मूल्य फरक हुन्छ र एक दिनभरिका लागि ९६ वटा फरक–फरक बल्कमा प्रतिस्पर्धा गर्नुपर्छ । नेपालले बुधबार दिनभरिका लागि गरेको बोलकबोल प्रतिस्पर्धाबाट ४ वटा बल्क अर्थात् १ घण्टाका लागि मात्रै बिजुली पाएको थियो । त्यस्तै, बिहीबारका लागि भएको बिडिङमा पनि १२ वटा बल्कमा मात्रै बिजुली पाएको छ । आईईएक्सबाट किनेको बिजुली ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट नेपाल भित्रिएको छ । नेपालले भारतका पावर ट्रेडिङ कम्पनी लिमिटेडसँग २५ वर्षका लागि ३.१५ भारु दीर्घकालीन पीपीए गरेको भए पनि उक्त सम्झौता अहिले कार्यान्वयनमा छैन । ‘हामीले अहिले भारतबाट बिजुली किन्नका लागि एनभीभीएनसँग वार्षिक सम्झौता गरेका छौं । ४.१६ भारुमा १५० मेगावाटसम्म बिजुली किन्ने गरी गरेको सम्झौता २०२२ जुनसम्म कायम रहन्छ,’ उनले भने, ‘२५ वर्षका लागि भएको दीर्घकालीन पीपीए अहिले कार्यान्वयनमा छैन । विकल्प भनेको बिहारबाट ल्याउने हो ।’