नेपाल चेम्बर अफ कमर्सको ७१ औ वार्षिक साधारण सभा सम्पन्न
News Desk
Apr-10 , 2022 तारिख 05:44 बेलुका

 काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७१ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २००७ सालमा स्थापना भएको नेपाल चेम्बरले आईतबार काठमाडौंमा ७१ औं वार्षिकोत्सव समेत मनाएको छ । सो अवसरमा कार्यक्रमको उदघाटन गर्दै संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाले चेम्बरको स्थापना दिवस एवम् ७१ औं साधारण सभाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको पुरानो संस्था चेम्बरले नेपालको आर्थिक क्षेत्रमा पुर्याउदै आएको योगदान अतुलनिय रहेको बताउनु भयो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रबाट स्थापित देशकै जेठो संस्था भएको उल्लेख गर्नु हुँदै देश भित्र उद्यमशिलता विकास, रोजगारी सिर्जना, औद्योगिकीकरण, अर्थतन्त्र चलायमान गर्ने जस्ता सवाललाई प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

त्यसैगरि नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले नेपाल सरकार निजी क्षेत्रका हरेक समस्यामा एक साथ रहेको बताउनु हुँदै निजी क्षेत्रका समस्या समाधानमा सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले हाल सरकारले एलसी खोल्न बन्देज लगाएको प्रति आपत्ती व्यक्त गर्नु हुँदै सरकारको यस निर्णयले निजी क्षेत्र अत्यन्तै मर्माहत भएको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रम माझ विभिन्न उद्यमी एवम् शाखाहरुलाई कार्य मुल्यांकनका आधारमा सम्मान गरिएको थियो ।