नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र अवसर बिषयक अन्तर्कृया सम्पन्न
News Desk
May-03 , 2022 तारिख 05:10 बेलुका

काठमाडौं । नेपाल युथ चेम्बरको आयोजनामा नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र अवसर बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा मुख्य वक्ताका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व अर्थमन्त्री युवराज खतिवडाले अहिले मुलुकको आर्थिक सन्तुलन बिग्रिन गएको स्थितीमा तीन वटा क्षेत्रहरु पर्यटन, श्रम र बाह्रय बजारबाट कसरी विदेशी मुद्रालाई आर्जन गर्ने भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले मुलुकले सबै कुरा आयात गरेर अर्थतन्त्र धान्दै आएकाले समस्या देखिएको औल्याउनुका साथै लगानीको क्षेत्रमा संरचनागत समस्या रहेकाले त्यसलाई नसच्याउँदासम्म चालु खातामा समस्या ज्युका त्यु रहने हुँदा त्यसमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । खतिवडाले आफुहरुले प्रतिपक्षको रुपमा नेपाल श्रिँलंका हुन्छ नभनेको तर नीतिगत त्रुटीलाई नसच्याउने हो भने २ बर्षमा त्यस्तै नियती भोग्नुपर्ने तर्फ सचेत गराएको बताउनुभयो । उहाँले आर्थिक ब्रिद्धीदर देखिनु सुखद रहेको बताउदै निर्यात बढाउन, पर्यटन ब्रिद्धी गर्नुपर्नेमा ध्यानदिनुपर्ने बताउदै जग्गामा बढि लगानी लगाउने कामलाई निरुत्साहित र आर्थिक नीति बनाउने निकाय बीच समन्वय हुन जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले अहिले मुलुकमा देखिएको आर्थिक असन्तुलनको मुख्य कारकमा यूक्रेन रसिया युद्ध रहेको उल्लेख गर्दै पेट्रोलियम पद्धार्थको मुल्य आकाशियसँगै जटिलता बढेको बताउनुभयो । साथै उहाँले अपेक्षा अनुरुप भि सेपबाट आर्थिक पुनरुत्थान हुने नसकिने देखिएको उल्लेख गर्नुहुँदै वित्त क्षेत्रमा रियल र मनिटरी क्राईसेस एकै साथ उत्पन्न भएकाले पनि यो स्थिती भोग्नु परेको जनाउनुभयो ।

कारोबार आर्थिक दैनिकका सम्पादक कुवेर चालिसे मोडरेटर रहनुभएको सो कार्यक्रममा प्यानलिस्टहरुले वक्ताका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले सरकारले दशवटा वस्तुहरुमा प्रतिबन्ध लगाउन लिईएका आधार बारे जानकारी दिने क्रममा हाल विदेशी मुद्राको संचिति कम रहेको र आयात बढिरहेको स्थिती माझ अर्थतन्त्रलाई सन्तुलित तुल्याउने उदेश्य सहित अत्यावश्यक नमानिएका वस्तुको आयातलाई तत्कालका लागि रोकिएको उल्लेख गर्नुभयो । साथै, उहाँले आपुर्तिलाई नखल्बलिने गरि उत्पादनशिल क्षेत्रलाई बजेट मार्फत प्रोत्साहन गर्ने तयारी गरिएको स्पष्ट समेत पार्नुभयो ।

सो अवसरमा बैंकर एशोसियसन अफ नेपाल उपाध्यक्ष एवम् एनएमबि बैंकका सिईओ सुनिल कुमार केसीले बैंकहरुले ४५-५० प्रतिशतसम्म उत्पादनशिल क्षेत्रमा लगानी गरेको जनाउनुहुँदै अर्थतन्त्रको सबलीकरणका लागि राष्ट्र बैंकले नियमन गर्नु पूर्व पनि बैंकहरुले उत्तरदायी भएर कार्य गरेको र वित्त क्षेत्रले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न पनि सक्दो प्रयास जारी राख्दै आएको बताउनुभयो ।

सेण्टर फरका विश्वास गौचनले ३० बर्षको डाईरेक्टर लेण्डीङमा डाटामा देखाए भन्दा कम गएको देखिएको प्रक्षेपण गर्नुहुँदै बैंकिङ क्षेत्रको २० प्रतिशत ब्रिद्धीदर भएता पनि मुलुकको आर्थिक ब्रिद्धीदर ४ प्रतिशत मात्र देखिनुले अस्वभाविक अवस्था आएको हो भन्ने बारे विचार पुर्‍याउनुपर्ने राय पेश गर्नुभयो ।

त्यसैगरि, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले विदेशी मुद्रा संचितिमा कमी आउने वित्तिकै बिना अध्ययन वस्तु आयातमा रोकिनु दुर्भाग्यपूर्ण रहेको बताउनुहुँदै यसले अर्थतन्त्रलाई झन समस्यामा पार्न सक्ने जिकिर गर्नुभयो ।

नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कार्यक्रम फलदायी हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।