गैरआवासीय नेपाली संघका प्रतिनिधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीच भेटवार्ता सम्पन्न
News Desk
Jan-21 तारिख 12:43 बेलुका

काठमाडौं । गैरआवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले यस्तै, संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न अनुकुल वातावरण निर्माणका लागि आग्रह गर्नुभयो ।
अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १० अर्ब बराबरको एन.आर.एन नेपाल डेभलपमेण्ट फण्ड लि. कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानूनी बाधा व्यवधानलाई हटाउन उद्योगमन्त्री समक्ष आग्रह गर्नुभयो । लगानी सम्बन्धमा विद्यमान न्युनत्तम २ करोडको मापदण्ड हटाउन समेत अध्यक्ष केसीले आग्रह गर्नुभयो ।
यस्तै अर्का अध्यक्ष कुल आचार्यले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट उद्योगमन्त्री भण्डारी समक्ष आग्रह गर्नुभयो । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पुजीँसहित उनीहरुको ज्ञान, सीप र क्षमता भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
जवाफमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपालीलाई लगानीका लागि देखा परेका नीतिगत तथा कानूनी व्यवधान हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको वास्तविकतामाझ गैरआवासीय नेपालीको पूँजी भित्र्याउन सरकार तत्पर रहेको मन्त्री भण्डारीको भनाई थियो । उहाँले भन्नुभयो,“ विश्वभर आर्थिक मन्दी छ, नेपालको अर्थतन्त्र अझ समस्यिाग्रस्त छ, तसर्थ, धरासायी अर्थतन्त्रलाई चलायमान बनाउन गैरआवासीय नेपालीको लगानी अपरिहार्य छ, लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ ।” अर्थतन्त्र धरासायी हुँदा नेपालीकै पूँजी सदुपयोग गर्न पाउनु सरकारका लागि समेत खुशीको कुरा भएको भन्दै मुनाफासहितको लगानीका लागि सरकारले सहजीकरण गर्ने मन्त्री भण्डारीले बताउनुभयो । उद्योगमन्त्री भण्डारीले गैरआवासीय नेपालीका नीतिगत माग सकेसम्म संसदको चालू अधिवेशनबाटै टुंगो लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यका कुनै पनि नीतिबाट तपाईहरु वञ्चित हुनु पर्ने छैन, नीतिगत रुपमा सबै मुद्दा सम्बोधन हुँदै जानेछन् ।”
भेटका अवसरमा संघका महिला सचिव राधिका गुरुङ, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग भेटघाट सम्पन्न
गेरआवासीय नेपाली संघका प्रतिनिधिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग भेटघाट गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीले वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका विशेषतः घरेलु महिलाहरुले भोग्नुपरेको समस्या, विविध कारण विदेशका जेलमा रहेका महिलाका अवस्था लगायतका विषयमा मन्त्री चौधरीलाई जानकारी गराउनुभयो । यस्तै, वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका नेपाली महिलाहरुको पुर्नएकीकरणसहित, उनीहरुका लागि स्वरोजगारका योजना कार्यान्वयनमा ल्याउन पनि अध्यक्ष केसीले मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।
भेटका क्रममा अध्यक्ष कुल आचार्यले संघका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि भइरहेका कामहरुबारे जानकारी गराउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गरेर थप कार्यक्रम गर्न तयार रहेको जानकारी गराउनुभयो । यस्तै, नेपाल तथा नेपाली श्रमिक महिलाको जनघनत्व बढी रहेका देशहरुमा समेत नेपाल सरकार र गन्तव्य मुलुकस्थित दूतावास तथा नियोगसँग सहकार्य गरी सहजीकरण र समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संघकी महिला सचिव राधिका गुरुङले संघले नेपालमा सडक बालबालिकाको व्यवस्थापनको नोपल सरकारसँग सहकार्य र सम्झौता गरी विभिन्न गतिविधि अघि बढाउन लागेको जानकारी गराउँदै त्यसमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो । यस्तै, उहाँले संघले नेपालका विभिन्न स्थानमा महिला सशक्तिकरणको लागि सीपमुलक तालिमहरु उपलब्ध गराईरहेकोमा आगामी दिनमा पनि त्यसको बिस्तारको लागि सरकारसँग आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो । भेटमा मन्त्री चौधरीले गैरआवासीय नेपाली संघले गर्दै आएका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रह गर्नुभयो । नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि मन्त्रालयले गर्ने हरेक कार्यक्रममा संघसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो । नीतिगत सुधार तथा थप कार्यक्रमका सम्बन्धमा अन्तरमन्त्रालयगत समन्वय गरि अघि बढ्ने उहाँले बताउनुभयो ।
गैरआवासीय नेपाली नागरिकताको मुद्दा टुंग्याउन संघका अध्यक्षत्रयद्वारा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आग्रह
गैरआवासीय नेपाली संघका अध्यक्षत्रयले राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटेर गैरआवासीय नेपाली नागरिकताको मुद्दा टुंग्याउन पहल गरिदिन आग्रह गर्नुभएको छ ।यसअघि दुईपटकसम्म गैरआवासीय नेपाली नागरिकता समेतको प्रावधान भएको नागरिकता विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएकोप्रति धन्यवाद व्यक्त गर्दै कार्यकारी अध्यक्ष रबिना थापासहित अध्यक्षद्व डा बद्री केसी र कुल आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको मुद्दालाई यथाशक्य छिटो टुंगो लगाउने पहल गर्न आग्रह गर्नुभएको हो ।यस्तै, भेटका क्रममा विभिन्न कारण असन्तुष्ट रहेका एनआरएनको समूहसँगको एकता सम्बन्धी समसामायिक विषयवस्तुमा पनि छलफल भएको छ । सो अवसरमा संविधानको धारा २९१ले विदेशमा रहेका नेपालीको मौलिक हक अधिकार नै कुण्ठित पार्नसक्ने भएकोले त्यसलाई हटाउन समेत अध्यक्षत्रयले तिमिल्सिनासँग आग्रह गर्नुभयो । अध्यक्षत्रयसँग कुराकानी गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले एनआरएनएले उठाएका सम्बोधनका लागि आफ्नो तर्फबाट सम्पूर्ण सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धेरै पढिएको