वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) चैत १८ गतेदेखि निजी क्षेत्रले सञ्चालन गर्ने
News Desk
Mar-24 , 2023 तारिख 10:03 बिहान

काठमाडौं । वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) चैत १८ गतेदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिले ५ वर्षका लागि आईसीपी सञ्चालन तथा व्यवस्थापन गर्न निजी क्षेत्रलाई दिएको छ । बुधबार टीआरएस हिमालयन लेजिपार्क प्रालि नामक कम्पनीका माधव प्रसाद बराल र समितिका उप निर्देशक हरेकृष्ण मिश्रले सम्झतौ पत्रमा हस्ताक्षर गरेका छन् ।१ अर्ब ८० करोड ९० लाख १ हजार २०० रुपैयाँमा टर्मिनल (सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन) हरुको सञ्चालन गर्ने भएको छ ।

२०७४ चैत २४ देखि सञ्चालनमा आएको आईसीपी इन्टरमोडल यातायात विकास समितिले आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन गरिरहेको छ । २०७९ साउन ११ गते समितिले टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम अन्तर्राष्ट्रिय स्तरको प्रस्ताव (बोलपत्र) आह्वान गरेको थियो ।जसमा ५ वटा कम्पिनी सहभागी भएका थिए । नेपालको विन्दबासिनी लजिस्टिक्स प्रालि र भारतका टिआरएस लिफ्ट एण्ड सिफ्ट सर्भिसेज प्रालि तथा एपीजे सिपिङ लिमिटेड कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको थियो । यसको नाम भने कैलाश टर्मिनल्स जेभी राखिएको छ ।

कम्पनीले टर्मिनलको सञ्चालन, आयात तथा निर्यातका क्रममा वस्तुहरुको ओसारपसार, भण्डारण, रेखदेख, मर्मत सम्भार, पूर्वाधार निर्माण, टर्मिनलभित्र रहेका मेसिनरी औजार, उपकरण, ढुवानी साधन आदिको व्यवस्थापन गर्नेछ ।एकै स्थानबाट भन्सार, आप्रवासन, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्थाहरु ल्याएर मानवीय तथा मालसामानको अन्तरदेशीय आवत जावतलाई झञ्झटरहित बनाउने उद्देश्यले भारतले नेपाल र आफ्नो भूमिमा समेत आईसीपी निर्माण गरिदिएको छ । नेपालको आधा भन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आईसीपीबाटै हुने गरेको छ ।