News Desk
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्वोधन गर्न सरोकारवाला निकायसंग पुनः आग्रह गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको भेटबार्ताका क्रममा अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको बताए ।
अध्यक्ष मल्लले भने, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवं समग्र ऋणीहरु निकै मर्कामा परेका छन । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघी ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ।’
उद्योग व्यवसायमा पछिल्लो समय देखिएको मन्दीको असर अर्थतन्त्रमा दिर्घकाल सम्म पर्ने तर्फ अध्यक्ष मल्लले सांसदहरुको ध्यानकर्षण गराए ।ब्याजदर नियन्त्रणसंगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।नागरिकको प्रत्यक्ष सेवा प्रवाहसंग जोडिएका राहदानी विभाग, यातायात व्यवस्था विभाग, कर राजश्व जस्ता क्षेत्रमा निश्चित समय नै तोकेर परिणाम दिनेगरि काम गर्नुपर्ने अध्यक्ष मल्लले बताए । नागरिकको सेवा प्रवाह जोडिएका क्षेत्रमा टाईम कार्ड लागु गर्नुपर्ने मल्लको भनाई छ ।
मुलुकको अर्थतन्त्रलाई डिजिटल प्रणालीमा लैजानका लागि ठोस र प्रभावकारी रणनीति बनाउनुपर्ने अध्यक्ष मल्लले बताए ।डिजिटल कारोबारलाई प्रश्रय दिएर उधारो कारोबारलाई सदाका लागि निस्तेज गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
चेम्बर पदाधिकारीसंग भएको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्ने बताइन् ।