News Desk
काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा “नेपाल चेम्बर एक्स्पो २०२३” हुने भएको छ । छैटौं संस्करणको यस एक्स्पो यही जेठ ४ देखि ८ गतेसम्म भृकुटी मण्डप स्थित प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजना हुन लागेको हो । मेलामा व्यापारिक अन्तक्र्रिया र आयात–निर्यातको सूचना आदान–प्रदान हुने चेम्बरले जनाएको छ । नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिदै आएको नेपाल चेम्बरको यस मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट
नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ । नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।
निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य रहेको सन्दर्भ उल्लेख गर्दै गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने चेम्बरले बताएको छ ।
यस वर्ष पनि विगतमा झैं बंगलादेशको वाणिज्य मन्त्रालय र ईबिपी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटो मोबाईल, ह्याण्डिक्राफ्ट, कस्मेटिक, घरायसी प्रयोजनका सामाग्री, विद्युतीय तथा उपकरण, फर्निसिगं, लत्ता कपडा, फेशन, छालाजन्य उत्पादन, मोबाईल तथा ग्याजेट, जलविद्युत, खाद्य तथा दुग्ध उत्पादन आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास चेम्बरले लिएको छ ।
“नेपाल चेम्बर एक्स्पो २०२३” मेलाको अफिसियल इन्सूरेन्स प्रभु ईन्स्योरेन्स रहेको छ भने एक्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले लिएको छ । यस मेलामा १५० भन्दा बढि स्टलहरू रहने छन्। जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहनेछन्र धमाधम स्टलहरु बुकिङ भईरहने क्रम जारी रहेको चेम्बरले जनाएको छ ।
विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्बृद्धि तर्फ उन्मूख हुँदै गई रहेको परिप्रेक्ष्यमा राष्ट्रको सर्वाङ्गिक विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको र देशको समग्र विकास, निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिर्इ मेला आयोजना गर्न लागिएको चेम्बरले स्पष्ट पारेको छ ।