चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु
News Desk
May-18 , 2023 तारिख 02:09 बेलुका

जेठ ४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको छ । मेलाको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले गर्नुभएको हो । सो अवसरमा मेलाको उद्घाटन समारोहलाई संबोधन गर्नुहुँदै मन्त्री भण्डारीले बजारलाई चलायमान बनाउन सरकार र निजी मिलेर अघि बढ्नु पर्ने धारणा राख्नभयो । उहाँले रोजगारीको संभावनाको खोजी रोजगारदाताले गर्नुपर्ने बताउनुहुँदै सरकारले ७५३ पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेको जनाउनु भयो । साथै, मन्त्री भण्डारीले रोजगार सेवा केन्द्रमा रोजगारदातालाई पनि संलग्न गराएर रोजगारको संभावनालाई एकिकृत गर्दै एकद्धार प्रणलीमा जोड्न चाहेको उल्लेख गर्नुभयो । 'सरकारको मुख्य प्राथमिकता उद्योगको विकास हो,'मन्त्री भण्डारीले भन्नुभयो , 'यसले रोजगारी सिर्जना हुन्छ।' 

त्यसैगरि, अर्थ सचिव मधुकुमार मरासिनीले नेपाल भुपरिवेष्ठित मुलुक भएकाले बस्तुको उत्पादन लागत बढन गई प्रतिस्पर्धी क्षमता कम हुने हुनाले सेवा व्यापारमार्फत लाभ उठाउन अग्रसर रहनुपर्ने धारणा राख्नुभयो । सीप र प्रविधि साटासाट गर्न अन्तर्राष्ट्रिय मेला सहयोगी हुने उहाँको भनाइ छ। व्यापार घाटा घटाउन दीगो निर्यात हुन सक्ने वस्तुको उत्पादनमा लाग्न उद्योगीहरूलाई उनले आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जेठ ८ गते सम्म चल्ने व्यापारमेलाले स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने जानकारी दिनु हँुदै व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली बस्तुहरुको बजारीकरणमा जोड दिईएको बताउनुभयो । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले बताउनुभयो । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन,  उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष  अवलोकन गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । उहाँले भन्नुभयो,‘चेम्बर एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी हुनेछ, ।’

चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने चेम्बरको प्रक्षेपण छ । 

मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरुको स्टल रहनेछ ।