News Desk
काठमाडौं- लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्ड सुविधा भने चालु रहने बैंकले जनाएका छन् ।
यी दुई संस्था मर्जरका लागि गत जेठ ८ गते अन्तिम सम्झौता भएको थियो । दुवै संस्थाको असार ३ गतेको साधारणसभाबाट पारित मर्जरसम्बन्धी विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले यही असार २२ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि कायम हुने बैंकको प्रधान कार्यालय काठमाडौँ महानगरपालिका–१ हात्तीसारमा रहने जनाइएको छ ।
राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’ को नीतिअनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा मात्र १२ वटा वाणिज्य बैंक एकापसमा गाभ्ने-गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर छवटा कायम भएका छन् । गत पुस महिनामा मात्र आठवटा वाणिज्य बैंक मर्जर र प्राप्तिमा गएका थिए ।