नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई भारतले दियो स्वीकृती
News Desk
Sep-05 , 2023 तारिख 06:52 बेलुका

नयाँ दिल्ली । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल  भारत भ्रमणमा गएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । 

द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्‌बाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो ।

नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो । प्रशस्तै ‘नेगोसिएसन’ पछि प्रधानमन्त्री दाहालको भ्रमणका बेला त्यस विषयलाई भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यमा राखिएको थियो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।

दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गरेका छन् । भारतको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने प्रेस इन्फर्मेसन ब्युरोको वेबसाइटमा त्यो निर्णय आइसकेको छैन ।