नेपाल महिला चेम्बरको आयोजनामा तिज बिशेष व्यापार मेला 
News Desk
Sep-09 , 2023 तारिख 08:49 बेलुका

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले तिज बिशेष व्यापार मेला आयोजना गरेको छ ।  शनिबार काठमाडौं ज्ञानेश्वर स्थित एटिकमा आयोजित उक्त मेलाको समुद्घाटन चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गर्नुभयो । मेलाको उद्घाटन गर्दै मल्लले  महिला उद्यमशिलताको कदर हुन सके मात्रै देशको वाणिज्य क्षेत्र सवल हुने धारणा राख्नुहुँदै देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै, उहाँले महिलाले उत्पादन गरेका वस्तुलाई बजारसम्म ल्याउन चेम्बरले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले मेलाले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चेम्बर उपाध्यक्ष दिपक मल्होत्रा, दिपक श्रेष्ठ, नारी पत्रिकाकी लक्ष्मी भण्डारी लगायतले बोल्नुभएको थियो । 

मेलामा महिला उद्यमीद्वारा उत्पादित पहिरन, श्रृंगार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखिएका थिए भने नेपाल क्यान्सर अस्पतालले प्रेसर तथा सुगरको निशु्ल्क चेकजाच गरेको थियो। तीज विशेष मेलामा गयिकाहरु रेखा शाह, सावित्रा भुजेल, सुजता केसी, पुजन केसी लगायतले प्रस्तुती दिने कार्यक्रम रहेको छ।

सो अवसरमा महिला चेम्बरकी महासचिव लिमा अधिकारीले मेलामा २० वटा स्टलहरु राखिएको जानकारी दिनुभयो । मेला आज साँझसम्म संचालनमा रहने चेम्बरकी निर्देशक श्रृष्टि त्रिपाठीले जनाउनुभएकोे छ ।