तिहारमा चिनीको अभाव कम गर्न साल्ट ट्रेडिङबाट खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु 
News Desk
Nov-06 , 2023 तारिख 05:49 बेलुका


काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको छ। कर्पोरेशनले तिहारमा चिनीको अभाव कम गर्न खुद्रा व्यापारीहरुलाई चिनी बिक्री सुरु गरेको हो । आईतबारदेखि खुद्रा व्यापारी र मिठाइ पसलहरुलाई चिनी उपलब्ध गराउन थालिएको कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिएका छन् । खुद्रा ब्यापारीहरुलाई ५० किलोका पाँच बोरासम्म चिनी बिक्रीवितरण भइरहेको उनले बताए।

त्यसका लागि व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र प्यान÷भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि, पसल रहेको स्थान र मुख्य व्यक्तिको नाम तथा सम्पर्क नम्बर आवश्यक पर्ने छ। उनीहरुलाई कर्पोरेशको कार्यालय कालिमाटीबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ५० पैसामा चिनी बिक्री गरिएको विभागीय प्रबन्धक झाले बताए। उनका अनुसार उनीहरुले उपभोक्तालाई बढीमा १ सय १८ रुपैयाँ केजीमा सुलभ तरिकाले चिनी उपलब्ध गराउनुपर्नेछ। 

दैनिक रुपमा चिनी खरिद गरेर लाने पसलको विवरण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने कर्पोरेशनले जनाएको छ। विभागीय प्रबन्धक झाका अनुसार व्यक्तिगत प्रयोजनका लागि भने कर्पोरेसनले प्रतिकेजी ९७ रुपैयाँमा बढीमा २ केजीका दरले चिनी उपलब्ध गराइरहेको । उनका अनुसार तिहारलाई लक्षित गरी एभरेष्ट चिनी मिलसँग एक हजार टन चिनी खरिद गरी बिक्रीवितरण थालिएको हो।