ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक
News Desk
Nov-23 , 2023 तारिख 11:50 बेलुका

ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।
 
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन्।

ग्लोबल आईएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ। हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ।