अनुगमनलाई लचिलो बनाउन महानिर्देशक चिलवाललाई ललितपुर चेम्बरको आग्रह
News Desk
Nov-30 , 2023 तारिख 03:31 बेलुका

काठमाडौं । ललितपुर चेम्बर अफ कमर्सले वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थ राज चिलवाललाई भेटी अनुगमन सम्बन्धमा मौजुदा बजारका विविध समस्यालाई निराकरणको लागि आवश्यक सुझावसहितको ज्ञापनपत्र 

बुझाएको छ । अध्यक्ष पुष्परत्न शाक्यको नेतृत्वमा बुधबार सात सदस्यिय प्रतिनिधिमण्डलले महानिर्देशक चिलवालको कार्यकक्षमा पुगी ज्ञापनपत्र बुझाएको हो । चिलवाललाई ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले उक्त ज्ञापनपत्र हस्ताणतरण गर्नुभएको थियो । उक्त भेटका क्रममा महानिर्देशक चिलवालले अनुगमनको समयमा व्यवसाय मैत्री व्यवहार गर्ने प्रयास हुँदै आएको र व्यवसायीलाई अनावश्यक तनाव एवम् झन्झट नलिन आग्रह गर्नुभयो । सो अवसरमा ललितपुर चेम्बर अध्यक्ष शाक्यले एउटै व्यवसायिक फर्ममा तीनै तहका सरकारबाट अनुगमन हुने व्यवस्थासँगै व्यवसायीहरु आतंकित हुदै आएकाले सो प्रावधानमा सुधारको खाँचो औल्याउनुभएको थियो । अध्यक्ष शाक्यले निर्यातकर्ता, थोक एवम् ठुला व्यवसायमा विभागले अनुगमन र स्थानीय व्यवसायीलाई स्थानीय सरकारबाट नै अनुगमन गर्दा राम्रो हुने सुझाव दिनुभयो । ललितपुर चेम्बरले ज्ञापनपत्र मार्फत बिल बिजकका समस्या, अन्य भुल बश हुने सामान्य त्रुटी, नीतिगत आदी समस्याहरुबारे महानिर्देशक चिलवाललाई अवगत गराएको छ । त्यसो त महानिर्देशक चिलवालले उक्त सुझावका लागि ललितपुर चेम्बरको सर्हाना समेत गर्नुभयो ।