नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नवौँ अन्तरराष्ट्रिय व्यापार मेला शुरु
News Desk
Nov-30 , 2023 तारिख 09:50 बेलुका

सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तासँग आग्रह गरेका छन्।

बिहीवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौँमा शुरु भएको नवौँ अन्तरराष्ट्रिय व्यापार मेला–२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरू केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताए। उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नुभन्दा पनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए।

उनले भने, ‘यस्तो वेला विदेशीले व्यवसाय गरिरहेका ठाउँबाट लगानी फिर्ता लिन खोजेका घटनाप्रति मेरो ध्यान गएको छ। अब हामी प्रतिकूलतामा रहेको अर्थतन्त्र अनुकूलतामा लैजाने दिशामा गइरहेका छौँ। देशको संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाको रूपमा लिएको छ।’

सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए। उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरूको अनिश्चितता लगायतका कुराले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताए।

उनले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गरे। उनले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताए।

उनले भने, ‘निजी क्षेत्रको समस्याका बारेमा पनि जानकार छु। अहिले एउटा प्रदर्शनी कक्ष पनि नभइरहेका सन्दर्भमा सातै प्रदेशमा प्रदर्शनी कक्ष निर्माण गर्ने र यसलाई व्यवस्थित ढंगबाट प्रदर्शनको योजना बनाउने कुरामा संसद् र सभामुखका तर्फबाट खेल्नुपर्ने भुमिकाका लागि म प्रयत्न गर्नेछु।’

सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउनेभन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहाद्र्रपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न आग्रह गरे। पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए।