News Desk
हाल हस्तकला व्यवसाय कुन अवस्थामा गुज्रि रहेको छ, केही बताईदिनुस् न ?
हस्तकला व्यवसायमा पछिल्लो समय केही सुधारको संकेत देखिएको छ । हस्तकला निर्यात १३ प्रतिशतले बढेको नेपाल राष्ट बैंकको तथ्यांकले बताउँछ । युरोपतिरको मार्केट भने २० प्रतिशतले घटेको छ । उत्तरी नाका खुला भएका कारण धातु मूर्तिकला र परम्परागत विधाको निर्यात बढेको हो । यही अवस्था रहेमा क्रमिकरुपमा निर्यात बढ्न सक्ने देखिन्छ ।
हस्तकला महासंघले स्वर्ण महोत्सवको अवसर पारेर संचालन गरेको हस्तकला प्रवद्र्धनात्मक कार्यक्रमका उपलव्धी कस्तो रहेको छ ?
अझै पनि स्वर्ण महोत्सवको कार्यक्रम जारी छ । जस्तै स्वर्ण स्तम्भ बनाउने, स्वर्ण सिक्काको विषय मन्त्रिपरिषदबाटै पारित गर्नुपर्ने भएकोले त्यो अहिले बाँकी नै छ । त्यसवाहेक सरकार, प्रदेश सरकार तथा सांसदज्यूहरुबाट अन्य सहयोग र सपोर्टको क्रम भने बढेको छ । उहाँहरुले निकै चासोका साथ सोध खोज गर्नुहुन्छ । सल्लाह सुझाव लिने दिने क्रम बढेको छ । हस्तकला क्षेत्रले निर्यातका साथै १० लाखलाई रोजगारी दिएको कुराले सरकार तथा संसदज्यूहरुमा यसमा चासो बढेको हो ।
महासंघले राज्यले नै स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने र विभिन्न उपहार मायाको चिनो दिँदा हस्तकला नै दिनुपर्ने माग गर्दै आएको छ, कार्यान्वयनको अवस्था के छ ?
कतिपय प्रदेश सरकार र स्थानीय तहले केही सुरुवात गरेका छन् । ललितपुर महानगरपालिकाले त हस्तकलाको कोसेली घर नै संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले कसैलाई उपहार वा मायाको चिनो दिनुपर्दा कोसेली घरबाटै खरिद गरेर दिनुपर्ने व्यवस्था गरेको छ । वागमति प्रदेशले पनि यसमा पहलकदमी लिएको छ ।
नेपाल सरकारका सन्दर्भमा भने कस्तकला व्यवसायीले सार्वजनिक खरिद ऐनको ज्ञान नभएका कारण केही समस्या देखिएको छ । खासगरी हस्तकला तथा घरेलु साना उद्योग उद्योगका उत्पादन खरिदमा मूल्य अभिबृद्धिकर(भ्याट) बिल आवश्यक पर्दैन, प्यान मात्रै भएपनि हुन्छ भन्ने हाम्रा व्यवसायी कालीगढहरुलाई ज्ञान नभएका कारण समस्या आएको हो । तर यसमा महासंघले सहजीकरण गर्दै आएको छ ।
महासंघले आन्तरिक बजारमा १२ अर्ब र निर्यात १२ अर्ब गरी कुल २४ अर्ब बराबरको हस्तकला कारोबार हुने गरेको बताउने गरेको छ । जुन धेरै वर्षदेखि स्थिर देखिन्छ । आन्तरिक खपत किन बढ्न नसकेको होला ?
अहिले आन्तरिक खपत अहिले धेरै बढेको छ । पछिल्ला वर्षहरुमा दशैं तिहार धनतेरसको बेला नेपाली हस्तकला धेरै खपत हुने गरेको छ । खासगरी धातु मूर्ति वस्तु, पूजा सामाग्री र गरगहनाको बढी कारोबार हुने गरेको छ । त्यसैले आन्तरिक बजार खपतबारे फेरि अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हस्तकलाको कच्चा पदार्थको अवस्था के छ ?
कच्चा पदार्थ त्यति सहज छैन । समस्या नै छ । धेरैजसो कच्चा पदार्थ वाहिरबाटै ल्याउनुपर्ने भएकोले समस्या भएको छ । यसमा सरकार तथा भन्सार विभागले सहजीकरण गर्नुपर्ने देखिन्छ । यसका लागि महासंघले लविङ गर्दै आएको छ ।
धातुकला र सुनचाँदीजन्य हस्तकलाको कच्चा पदार्थमा समस्या होला, काष्ठकला, प्रस्तरकलाको कच्चा पदार्थको अवस्था के छ ?
काठ, ढुंगा पनि सहज छैन । नेपालको बन जंगलमा भएका काठ त्यत्तिकै कुहिएर गइरहेको छ । व्यवसायीले मलेसियाबाट ल्याउनुपर्ने अवस्था छ । स्वदेशमै सहजरुपमा काठ उपलव्ध भएमा नेपाली पैसा नेपालमै रहने थियो भनेर हामीले नेपाल सरकार, प्रदेश सरकारसँग लविङ गर्दै आएका छौं । सुनचाँदीमा पनि सरकारले यसवर्षदेखि भन्सारदर बढाएका कारण लागत महँगो पर्न गएको छ । जसले गर्दा सुनचाँदीको अबैध कारोबार प्रोत्साहित भइरहेको देखिन्छ । सुनचाँदीको भन्सारदर घटाउने र दुइ प्रतिशत लक्जरियस शुःल्क पनि नलिने व्यवस्था गरेमा अवैध कारोबार निरुत्साहित हुनसक्छ । गत वर्ष सुनको भन्सारदर १० प्रतिशत थियो, अहिले बढाएर १५ प्रतिशत पु¥याएको छ ।
हस्तकला महासंघले हस्तकला नीतिको माग गरेको धेरै वर्ष भइसक्यो ? के हुँदैन ?
हामीले २०७५ सालमै हस्तकलाको मस्यौदा वुझाएको हो तर राजनीतिक अस्थिरका कारण हस्तकला नीतिको काम सुस्त देखिएको छ । हरेक वर्ष सरकार परिवर्तन हुने, मन्त्री सचिवहरु पनि परिवर्तन हुने अवस्थाका कारण यसमा समस्या देखिएको छ । तर हामीले नीतिका लागि लविङ गर्न भने छाडेका छैनौं । फेरिने हरेक सरकार, मन्त्री र सचिवज्यूहरुलाई नीतिकाबारेमा हामीले ध्यानाकर्षण गराउने गरेका छौं । तर बागमति प्रदेशबाट हस्तकला ग्राम ऐन भने अन्तिम चरणमा पुगेको छ । पुस महिनासम्म पारित हुने अपेक्षा गरेका छौैं
जनशक्तिको अवस्था के छ ?
अहिले हामीले दक्ष जनशक्तिको अभाव महशुस गर्दै आएका छौँ । युवा विदेश पलायनको क्रम बढेकाले यस्तो समस्या आएको हो । त्यही भएर यही युवा आकर्षित गर्न युवालक्षित कार्यक्रम कार्यक्रम ल्याउनुपर्छ भनेर सरकारसँग हामीले माग गर्दै आएका छौं । हस्तकलामा पनि स्टार्टअप आउनुपर्छ, त्यसका लागि सरकारले प्रोत्साहित गर्नुपर्छ । अन्यथा नेपाली हस्तकलामा समस्या आउन सक्छ ।
नेपाली हस्तकला ट्रेडमार्कमा कस्तो छ ?
धातु मूर्तिकलाको त अहिलेसम्म छैन । हामी नेपाली हस्तकला धातु मूर्तिकलाको कलेक्टिभ टे«डमार्क दर्ताको तयारीमा छौं । पश्मिनाको छु्ट्टै टे«डमार्क बनिसकेको छभने फेल्टको पनि टे«डमार्कको तयारी हुँदैछ । कला नगरी ललितपुरमा रहेका हस्तकलाहरुको पनि छुट्टै टे«डमार्क हुनुपर्छ भनेर हामीले ललितपुर महाननगरपालिका अन्तर्गतको कलानगरीलाई हामीले घच्घच्याउँदै आएका छौं ।
हस्तकलाको गुणस्तर परीक्षण ल्यावको पनि समस्या रहेको व्यवसायीको गुनासो छ, ल्यावका लागि चाहिँ महासंघले के गर्दैछ ?
हस्तकला ल्यावको अभाव महशुस हुँदै आएको छ । हामीसँग रहेका पुरानो मेसिन विग्रिएको छ । नयाँ मेसिनका लागि हामीले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत प्रस्ताव गरेका छौं । आफ्नै ल्याव नभएका कारण एउटै कम्पनीले भारतको दिल्लीमा ल्याव टेष्टमै ५० औं लाख खर्च गर्नुपरिहेको अवस्था छ । त्यहाँ भएकै जस्तो मेसिन हामीसँग भइदिए त्यो पैसा नेपालमै रहने थियो ।
यस उद्योगले झेल्नु परेका प्रमुख समस्या चाहिँ के के छन् ?
वास्तवमा हस्तकला उद्योगको मुख्य समस्या भनेको कच्चा पदार्थ र दक्ष जनशक्ति अभाव नै हो । आयात निर्यातका लागि पेमेन्ट गेटवे सिस्टम नहुँदा पनि समस्या आएको छ । निर्यात गरेको सामानको पैसा पाउन समस्या नभएपनि हामीले कच्चा पदार्थ आयात गर्नुपर्दा भुक्तानीमा समस्या हुने गरेको छ ।