News Desk
स्थानीय बजारमा यो साता सुनको मूल्य प्रति १० ग्राम १ हजार ३७० रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतवार प्रति १० ग्राम १ लाख ७४० रुपैयाँमा कारोबार भएको थियो। शुक्रवार १ लाख २ हजार ११० रुपैयाँमा सुन कारोबार भएको छ।
स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमवार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीवारदेखि फेरि उकालो लागेको थियो।
महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ। अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको विश्लेषकहरूले बताएका छन्। उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। साताको पहिलो दिन आइतवार १ हजार २२२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रवार प्रति १० ग्राम १ हजार २६० रुपैयाँ कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए।