News Desk
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्वाचित भएका छन । आनको २४औं साधारण सभाले एएनएस क्रियसनका थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । अध्यक्षमा थापा निर्विरोध निर्वाचित भएका हुन ।
संघको प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधान निर्विरोध निर्वाचित भएका छन । यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन । त्यस्तै सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन ।
कोषाध्यक्ष र सदस्यबाहेक अन्य पदमा उम्मेदवारी दिएकाहरू निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनमार्फत कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ निर्वाचित भएका छन । कोषाध्यक्ष पदका लागि जिरो मिडियाका जीवन पोख्रेल र जोइन मिडियाका श्रेष्ठ प्रतिस्पर्धामा थिए ।
यस्तै संघको सदस्यहतर्फ बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ ले सर्वाधिक मत प्राप्त गरेका छन । उनी लोकप्रिय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन । त्यस्तै, दोस्रो लोकप्रिय मत तीन जनालाई प्राप्त भएको छ । एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल र मेक वेजका विधान राजभण्डारीले समान ५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । त्यस्तै, रेडियो लिंकका रोशन पौडेल ४९ मत, मार्सका मनिस अधिकारीले ४५ र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल ४२ मतभारसहित निर्वाचित भएका छन । सदस्यतर्फकै निर्वाचनमा शम्भु अधिकारी र मोहन गजुरेलले समान ४१ मत प्राप्त गर्दा राम गणेश प्रसाद ’जीपि’ तिमल्सिनाले ३७ मत प्राप्त गरे ।
संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ । संघका पदाधिकारी तथा सदस्यहरुले आइतबार नै शपथ ग्रहण गरेका छन् ।