करिब ५५ अर्बको लागतमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढदै
News Desk
Feb-22 , 2024 तारिख 10:35 बेलुका

कास्कीको बीरेठाँटीदेखि मुस्ताङको रानीपौवासम्म करिब ५५ अर्बको लागतमा केबलकार निर्माणका लागि प्रक्रिया चलिरहेको छ।

उक्त केबलकार मुक्तिनाथ केबलकार प्रा.लि.ले निर्माण गर्न लागेको हो। यसका अध्यक्ष डा. अरुण सुवेदीका अनुसार यसको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र डिपिआर तयार पारेर सरकारलाई बुझाइसकिएको छ। केबलकार निर्माण गर्दा प्रयोग गर्नुपर्ने जग्गाको नापजाँच र खरिदको काम भइरहेको छ।

कास्की, पर्वत, बागलुङ र म्याग्दी गरेर चार जिल्लामा बन्ने यो केबलकारमा ८० किलोमिटरको दूरीमा विभिन्न ठाउँमा चढ्ने र ओर्लन मिल्ने स्टेशन सहित निर्माण हुनेछ। यो केबलकारमा बीरेठाँटीबाट चढेर मुस्ताङको रानीपौवा पुग्न ३ घण्टा ३६ मिनेट समय लाग्ने डा. सुवेदीले बताए।

यो केबलकारमा ‘मेन्डेटोरी’, ‘अप्शनल’ र ‘डेड’ गरेर तीन प्रकारका स्टेशन रहनेछन्। मुक्तिनाथको रानीपौवासम्म पुग्दा ६ वटा ‘मेन्डेटोरी स्टेशन’ रहने छन्। ९ वटा ‘अप्सनल स्टेशन’ राख्ने योजना छ।

८० किलोमिटर दूरीका लागि ४२० वटा ‘टावर’ र करिब ७६५ वटा डिब्बा रहने सुवेदीको भनाइ छ। एउटा डिब्बामा १० जना मानिस बस्न सक्ने छन्।

अहिलेको अवस्थामा करिब ५५ अर्ब रुपैयाँ लाग्न सक्ने अनुमान गरिएको छ। नोपालमा आयोजना तथा परियोजना निर्माण धेरै झमेला रहेको र आफूहरूले त्यो भोगिरहेको अध्यक्ष सुवेदीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले यो आयोजनालाई आफ्नो नीति तथा कार्यक्रममा राखेर निजी क्षेत्रबाट सञ्चालित प्रादेशिक गौरवको आयोजनाका रूपमा राखेको उनले जानकारी दिए।