News Desk
चैत्र ६ नुवाकोट | बिदुरस्थित सनसाइन होटलमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा स्थानीय निकाय एवं दुग्ध व्यावसायिहरुको संलग्नतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्रको दूधलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि के गर्ने भन्ने विषय राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा विदुर नगरपालिकाका मेयर राजु श्रेष्ठ रहनु भएको थियो भने कार्यक्रम उद्घाटन बालिकालाई दूध सेवन गराइएको थियो। राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बालक चौधरीको सभापतित्वमा भएको सो कार्यक्रममा अतिथिहरूमा वडा अध्यक्ष, जिल्ला कृषि कार्यालय प्रमुख, ज्ञान केन्द्रका प्रमुख एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल उपाध्यक्ष दिपप्रसाद धमला, मनोज कुमार घिमिरे सदस्यहरूमा नवराज थापा बागमती प्रदेशका उपाध्यक्ष धुर्व तिवारी सचिव श्याम घिमिरे लगायत डेरी उद्योगीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरकोट जिल्लामा रहेका १२ वटा पालिकाहरूका पशु सेवा शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अनौपचारिक क्षेत्रको दूधलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. बालक चौधरीले कार्यपत्र प्रस्तुति दिए भने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले दुग्ध क्षेत्रमा भएका समस्याहरूको समाधानका लागि नीतिगत कुराहरू समेटेर बनाइएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।सो कार्यक्रमको सञ्चालन राष्ट्रिय विकास बोर्डका अनुसन्धान अधिकृत दिपेन्द्र अधिकारीले गर्नुभयो भने स्वागत मन्तव्य बोर्डका प्रशासन प्रमुख बिदुर राईले गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित महानुभावहरूले दुवै क्षेत्रमा भएका समस्याहरूलाई उजागर गर्दै यसका समाधानका लागि स्थानीय सरकार केन्द्रीय सरकार एवं सबैजना मिलेर समाधानको अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले दुग्ध क्षेत्रको विकासका लागि आफू खुलेर लाग्ने कुरा बताउँदै आगामी वर्षको बजेटमा समाबेश गर्नुपर्ने कुराहरु लिखित रुपमा बुझाउनको लागि दुग्ध किसान र उद्योगलाई आग्रह गरे । राष्ट्रिय दुग्ध विकाससँग सधैं सहकार्य गरेर जाने कुरा पनि मेयर श्रेष्ठले बताए ।
एसोसिएसनका केन्द्रिय अध्यक्ष दाहाले राष्ट्रिय दुग्ध विकासले धेरै बजेटमा पनि देश ब्यापि आफ्नो उपस्तिथि जनाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा एसोसिएसनको बोर्डलाई अझ थप साथ र सहयोग रहने कुरा बताए। एसोसिएसन नुवाकोट शाखाका अध्यक्ष बालकृष्ण ( दिपक) ढुंगानाले नुवाकोट जिल्लालाई कार्यक्रममा छ्नौट गरि आएकोमा र कार्यक्रम अत्यन्तै फलदायी भएको कुरा बताउँदै राष्ट्रिय दुग्ध विकास बोर्डलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । कार्यक्रमपछि उपस्थित सबैलाई दुध तथा दुग्ध पदार्थ समाबेश भएको खाजाका साथै सेवन गराइएको थियो । कार्यक्रममा लगभग १०० जनाको उपस्थिति रहेको कुरा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।