चैत्र २२ गतेदेखी २६ गतेसम्म जावलाखेलमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो हुने
News Desk
Mar-28 , 2024 तारिख 01:43 बिहान

ललितपुर । यहि चैत्र २२ गतेदेखी ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आयोजनामा आउने भएको छ । ललितपुर चेम्बर अफ कमर्सले आज पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी दिएको हो। सो अवसरमा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले एक्स्पोले आर्थिक गतिविधिलाई बढाउन फलदायी हुने अपेक्षा  लिएको बताउनुभयो । सार्क मुलुकमा निर्मित सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले अन्य मुलुकमा प्रभाव जमाउँदै गएको बताउँनुहुदै उहाँले मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने दाबी गर्नुभयो ।  

पहिलोपटक ललितपुरमा आयोजना गर्न लागिएको एक्स्पोमा विभिन्न राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने बताइएको छ ।

मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजना हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने शाक्यले उल्लेख समेत गर्नुभयो । 

यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामीप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड सोका म्यानेजिङ डाइरेक्टर सुमन महर्जनले बताउनुभयो । 

त्यसैगरि मेलामा विभिन्न देशका फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर मेलाको थप आकर्षण हुने एक्स्पोका संयोजक सुनील विष्टले जनाउनुभयो ।

इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइना लगायतका देशमा उत्पादित विविध सामग्री, मौलिक उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिने बताइएको छ । फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जनाएको छ ।