किसानले पाउनुपर्ने बिमा सुविधा तत्काल उपलब्ध गराउन डेरी एशोसियसनको माग 
News Desk
Apr-03 , 2024 तारिख 09:30 बेलुका

काठमाण्डौं । डेरी एशोसियसनले किसानले पाउनुपर्ने बिमा सुविधा तत्काल उपलब्ध गराउन माग गरेको छ । एशोसियसनका तर्फबाट अध्यक्ष  प्रल्हाद दाहाल  र महासचिव हेमचन्द्र खनालद्धारा बुधबार प्रेषित विज्ञप्तीमा बिमा गरे अनुसार रकम नपाउदाँ विशेषगरी दुग्ध किसानहरू अत्यन्तै मारमा परेका र अप्ठ्यारोमा परि सडकमै पुग्ने अवस्था रहेको एशोसियसनले उल्लेख गरेको छ । किसानले पाउनुपर्ने बिमा सुविधा तत्काल उपलब्ध गराउन माग गरेको गर्दै यस्तो दुःखद अवस्थामा जसरी जे गरेर भएपनि पेशामा टिकाई राख्न राज्यको पनि दायित्व भएकाले किसानले पाउनुपर्ने विमा सुविधा तत्काल उपलब्ध गराई बीमा कम्पनीहरूलाई पशु बिमा र कृषि बिमा गर्ने गराउने सम्बन्धित निकायलाई व्यवस्था मिलाउन पनि एशोसियसनले माग गरेको छ ।

 किसानले बेचेको दुधको भुक्तानी समयमा नपाउँदा निरन्तर पशुलाई आहारा, कामदारको तलब, औषधि उपचार आदि निरन्तर खर्च गर्न नसक्ने अवस्था आईपरेकाले समस्या जटिल रहेको विज्ञप्तीमा उल्लेख छ । साथै, भोलि कुनै ठूलो महामारी वा अन्य कुनै कारणले पशुको क्षति भएमा यसरी बिमा नहुँदा पशुपालक किसानलाई ठूलो मार पर्ने  र  किसानहरु यि पेशाबाट पलायन हुन सक्ने अवस्था रहेको पनि जनाईएको छ ।


विज्ञप्तीमा थप भनिएको छ 'अहिले पछिल्लो समय बीमा कम्पनीहरूले राज्यबाट पाउनु पर्ने बीमा अनुदान रकम समयमै नपाएको र त्यसले समस्या भएको छ । अबबाट पूर्ण रकम अग्रिम नपाएसम्म बिमा नगरिने कुराले किसानहरु अत्यन्तै मारमा पर्ने देखिन्छ । यदि राज्यद्वारा बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नु प¥यो र यदि कहीँ कतै नीतिगत त्रुटि भए त्यसको हल गरी किसानले पाउने सुविधा निरन्तर बिना झन्झट उपलब्ध गराइनु पर्छ '।