News Desk
काठमाडौं, २०७७ चैत्र २६ । नेपाल चेम्बर अफ कमर्सको ७३ औँ साधारण सभाको उपप्रधान तथा परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गर्नुभएको छ । होटल सोल्टीमा मंगलबार आयोजित समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले चेम्बरको ७३ औँ साधारण सभा समुद्घाटन गर्नुभएको हो ।
साधारण सभा समुद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक विकास तथा समृद्धिमा सरकार, निजी क्षेत्र, सहकारी र समुदायले एकआपसमा मिलेर काम गर्नुपर्ने राय पेश गर्नुहुँदै सुदृढ अर्थतन्त्रका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । त्यसैगरि आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले निजी क्षेत्र र सरकार मिलेर अर्थतन्त्र उकास्ने गरि काम गर्ने, लगानी सम्मेलन सफल पार्ने, आर्थिक गतिविधि बृद्धि गर्ने र आर्थिक कुटनीतिमा जोड दिने जस्ता कार्य सरकारको प्राथमिकतामा रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्श निजी क्षेत्रबाट स्थापित देशकै जेठो संस्था भएको उल्लेख गर्दै देशभित्र उद्यमशीलता विकास, रोजगारी सृजना, औद्योगिकीकरण, अर्थतन्त्र चलायमान गर्ने जस्ता सवाललाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो।सो अवसरमा उहाँले अर्थतन्त्रको बाह्य सुचक राम्रो भए पनि आन्तरिक सुचक भने समस्यारत रहेको उल्लेख गर्नुहुँदै व्यापार घाटा कम गर्न सुझाव दिनुहँुदै ठुलो आकारमा बजेट ल्याएर पछि घटाउने गर्दा सकारात्मक सन्देश प्रवाह हुन नसक्ने औंल्याउनु भयो । अध्यक्ष मल्लले खेत किन्नेलाई नभई खेती गर्नेलाई कृषि अनुदान दिनु पर्नेमा जोड दिनुहुँदै तस्करी धन्दा रोक्न कारोबार मूल्यलाई मान्यता दिई भन्सारमा लाग्दै आएको सन्दर्भ मूल्य खारेज गर्नु पर्ने, काठ पैदावरको समुचित प्रयोगको नीति ल्याउनुपर्ने साथै मुलुकको अर्थतन्त्र उकास्न कनिका छरे झै बजेट छुट्टाउने काम बन्द गर्न पनि माग गर्नुभयो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले उद्योग चल्न नसक्दा रोजगारी बिस्तारमा समस्या उब्जिएको बताउनुहुँदै निजी क्षेत्रले लगानी गर्न नसक्दा समग्र आर्थिक गतिविधिमा सुस्तता छाएको उल्लेख गर्नुभयो ।
यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चेम्बरको ७३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित चेम्बर स्मारिका २०८० विमोचन गर्नुभयो । स्मारिकामा नेपालको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न लेखरचना संग्रहित छन । चेम्बर कार्यसमिति सदस्य एवं सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेले स्मारिका उपप्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
उद्यमी व्यवसायी तथा चेम्बरका कर्मचारीहरु सम्मानित
चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायी तथा चेम्बरका कर्मचारीहरुलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्मानपत्र तथा कदर पत्र प्रदान गर्नुभयो । सो अवसरमा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सम्मान गरियो । नेपाल चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य देबेन्द्रभक्त श्रेष्ठ र राजारत्न तुलाधरलाई कदर पत्र प्रदान गरियो । यस्तै कर्मचारी तर्फ निर्देशक सृष्टि त्रिपाठीलाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरियो भने निरन्तर २५ वर्षदेखी कार्यरत कार्यालय सहयोगी सर्मिला अधिकारीलाई दिर्घ सेवा सम्मानबाट विभूषित गरियो । प्रसंशनीय कार्य सम्पादन गरेको भन्दै झापा चेम्बर अफ कमर्सलाई जिल्ला चेम्बरतर्फ पुरस्कृत गरियो ।
चेम्बरका पूर्व अध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरेको छ । जसमा ईश्वरलाल मेमोरियल लाईफ टाईम अचिभमेण्ट अवार्ड एनडि ग्रुपका अध्यक्ष हेरम्भ बहादुर राजभण्डारीले प्राप्त गर्नुभयो भने बनवारी लाल मित्तल मेमोरियल अवार्ड एस ग्रुपका योगेन्द्र शाक्यलाई प्रदान गरियो। महिला उद्यमीतर्फ जनकदास श्रेष्ठ मेमोरियल अवार्ड कोपिला भ्याली सेवा समाजलाई प्रदान गरियो भने राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषि तर्फ शक्तिरुपा कृषि फर्मका संचालक दिपक प्रसाद तिमल्सिनाले प्राप्त गर्नुभयो । त्यस्तै जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड हस्तकलातर्फ चन्द्रबहादुर थापाले प्राप्त गर्नुभयो भने इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ शिवरत्न शारडाले प्राप्त गर्नुभयो । त्यसैगरि, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड तिलगंगा आँखा अस्पताललाई प्रदान गरियो ।
नेपाल चेम्बर अफ कमर्श बारे
चेम्बर स्थापनादेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ ।चेम्बरले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गर्दै आएको बताएको छ । साथै, चेम्बर आन्दोलनलाई अभियानको रुपमा विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि विभिन्न गतिविधि गरिँदै आएको उसको भनाइ छ ।
निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको चेम्बरले हाल प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघलगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघको प्रतिनिधित्व गर्छ ।रजिस्टर्ड फर्म, व्यापार र उद्योग क्षेत्रका संघसंस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्ध छन ।
नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरिसकेको छ । २००७ मा वणिक मण्डल गठन भई चेम्बरको पहिलो सुरुआत भएको थियो भने २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामबाट दर्ता भएको थियो । २०१० साल कात्तिकमा प्रथम साधारणसभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम गरेको थियो ।
चेम्बरले पहिलो पटक २०१२ तथा २०१६ मा क्रमशः मित्रराष्ट्र चीनका प्रधानमन्त्री चाउ एन लाई तथा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको सम्मानमा स्वागत समारोह आयोजना गर्ने अवसरसमेत पाएको थियो । चेम्बर २०१९ साल जेठ १९ गते राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत राष्ट्रिय निर्देशन मन्त्रालयमा व्यावसायिक संगठनको रुपमा सोही नाममा दर्ता भएको हो ।
यस्तै, चेम्बरकै पहलमा २०२२ मा उद्योग वाणिज्य संघ ९हाल नेपाल उद्योग वाणिज्य महासंघ० स्थापना गरिएको थियो ।हाल नेपाल चेम्बर अफ कमर्सको संघीय प्रणालीबमोजिम महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आबद्ध संघ तथा द्विराष्ट्रिय संघसंस्थासम्म सदस्य विस्तार भएका छन ।