मातातीर्थ सब स्टेसन र प्रसारण लाइनको आज उद्घाटन गरिने
News Desk
Apr-28 , 2024 तारिख 05:47 बेलुका

उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सब स्टेसन र मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ। काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो साढे २ बजे सब स्टेसन र प्रसारण लाइनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी चन्दनकुमार घोषले जानकारी दिए। 

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२० केभी सब स्टेसन निर्माण गरिएको हो। यो परियाजनाले काठमाडौं उपत्यकाको विद्युत माग सम्बोधन हुनुका साथै समग्र विद्युत प्रणालीमा सुधार हुने प्राधिकरणले अपेक्षा राखेको छ। 

प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना शुरु गरिएको हो। आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।