ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष शाक्य लाइफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मानित (जीवनीसहित )
News Desk
May-04 , 2024 तारिख 07:22 बेलुका

ललितपुर, वैशाख २२ । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य लाइफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मानित हुनु भएको छ । शनिवार ललितपुर तयारी पोशाक व्यापार संघद्वारा आयोजित रजत जयन्ती महोत्सव समापन समारोह तथा २६ औ बार्षिकोत्सव समारोह माझ उहाँ सम्मानित हुनुभएको हो । ललितपुर तयारी पोशाक व्यापार संघका संस्थापक अध्यक्ष समेत रहनुभएका शाक्यलाई उपप्रधान तथा परराष्ट मन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गर्नुभएको हो । सम्मान गर्ने क्रममा ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठले शाक्यलाई दोसल्ला ओढाउनुभएको थियो भने उपप्रधानमन्त्री श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो । 

सो अवसरमा उपप्रधान तथा परराष्ट मन्त्री श्रेष्ठले शाक्य जुझारु र बौद्धिक व्यक्तित्वका धनी भएको औंल्याउनुहुँदै उहाँलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले सरकार व्यवसायिक वातावरण निर्माण गर्दै अगि बढेको जिकिर समेत गर्नुभयो । 

कार्यक्रममा सम्मानित व्यक्तित्व ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले अनुगमनका नाममा व्यवसायीहरुलाई हतोत्साही तुल्याउन नहुने बताउनुहुँदै सरकार र निजी क्षेत्र मिलेर अघि बढन सके मात्रै आर्थिक क्षेत्र चलायमान हुने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठले रजत जयन्ती मनाउने क्रममा संघले विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेको जानकारी दिनुभयो ।

पुष्परत्न शाक्यको संक्षिप्त परिचय

पुष्परत्न शाक्य ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष, कुमारी पाटि व्यापार संघका अध्यक्ष र ललितपुर तयारी पोशाक व्यापारका संस्थापक अध्यक्ष हुनुहुन्छ भने हस्तकला तथा अन्य व्यापारसँग संबन्धित विभिन्न संघ संस्थाका आजीवन सदस्य समेत हुनुहुन्छ । हालै मात्र सांस्कृतिक नगरी ललितपुरमा पहिलो पटक अन्तरराष्ट्रिय व्यापार मेला आयोजना गरि सफलतापूर्वक सम्पन्न गर्न उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको छ । 

बहुआयामिक व्यक्तित्वका धनी उहाँ व्यवसायीका अलवा धर्मसेवी, कानुनवेत्ता र समाजसेवीको रुपमा पनि चिरपरिचित हुनुहुन्छ । बौद्ध दर्शनका ज्ञाता मानिनु हुने शाक्य बौद्ध विहार संघ ललितप’र  र मंगल मार्ग अन्तराष्टिय अध्ययन केन्द्रका निवर्तमान अध्यक्ष हुनुहुन्छ । धर्मोदय सभाका आजिव सदस्य उहाँ वर्ल्ड  एलायन्स बुद्धिष्ट एशोसियसनको कार्यसमिति सदस्य समेत रहनु भएको छ । त्यसो त बुद्ध धर्मको प्रबद्र्धनका निम्ति सकृय रहदै आउने क्रममा उहाँले थाईल्याण्ड स्थित धम्मकाया फाउण्डेशनले आयोजना गर्ने धर्म सभामा नियमित रुपमा प्रवचन दिदै आउनु भएको छ भने स्वदेश र विदेशका विभिन्न कार्यक्रममा सहभागी भई बुद्ध धर्म दर्शन बारे प्रवचन तथा मन्तव्य राख्दै आउनु भएको पाईन्छ । 

रोटरी, लायन्समार्फत सामाजिक कर्ममा पनि सकृय शाक्य नेपाल चाईना डक्टर प्यारेन्टस् सोसाईटिका अध्यक्ष हुनुहुन्छ भने वातावरण, कानुन, धर्म, व्यापार लगायतका संघ संस्थामा आवद्ध हुनुहुन्छ । 
 
बि. स. २०१२ सालमा ललितपुरको वैलाछेमा नेवार कुलमा जन्मनुभएका शाक्यले त्रिभुवन विश्वविद्यालयबाट कानुन संकाय अन्तर्गत स्नाकोत्तरसम्मको अध्ययन पुरा गर्नुका साथै विज्ञान संकाय र शिक्षा संकायमा स्नातक समेत गर्नुभएको छ । अध्ययन गर्दै गर्दाको समयमा निजामति सेवा अन्तर्गत अधिकृतको तहमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएका शाक्यमा आफै केहि गर्नुपर्छ भन्ने हुटहुटी जागेपछि हुदाखादाको जागिर छाडेर उहाँ बकालती पेशासँगै व्यापार व्यवसायमा होमिनुभएको हो । 

फलत आफूले देखेको सपना पुरा गर्न दत्तचित्त भएर लाग्ने क्रममा बुद्ध उपदेशलाई शिरोपर गर्दै सत्यको मार्ग अँगाल्दै व्यापार व्यवसायमा सकृय रहेको उहाँ बताउनुहुन्छ । यसै दौरानमा व्यवसायिक जीवनमा सफलता हासिल गर्दै विभिन्न तहमा रहेर व्यापारिक संगठनहरु हाक्ने जिम्मेवारी आफ्नो काधमा आई परेको उहाँ ठान्नुहुन्छ । ललितपुर चेम्बर अफ कमर्सको अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नै बागमती प्रदेश कमिटी सचिव र कुमारीपाटि जावलाखेल व्यापार संघ अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका शाक्यले आयात निर्यात, डिपार्टमेण्ट स्टोर र व्युटि पार्लर तथा ट्रेनिङ सेण्टर जस्ता व्यवसायिक फर्महरु संचालन गर्दै आउनुभएको छ । जसमा सिन्सियर हर्बल व्युटि पार्लर एण्ड ट्रेनिङ सेण्टर, सिन्सियर मार्केट डिपार्टमेण्ट स्टोर, नेपाल हारती ओभरसिज ट्रेडर्स रहेका छन् । 

यस माझमा उहाँले हस्तकलाजन्य नेपाली उत्पादनको प्रबर्धनका सिलसिलामा अमेरिका, जापान कोरिया हङकङ, थाइल्याड चीनलगायतका मुलुकको भ्रमण गर्नुभएको छ । त्यसो त उहाँले नेपाली हस्तकला र निर्यातजन्य सामाग्रीको निकासी प्रबर्धन गर्दै देशको आर्थिक स्थिती मजबुत बनाउनु पर्छ भन्ने मान्यतासाहित वर्ल्ड एक्स्पो चाईना, जापान र इन्टरन्यासनल ट्रेड फेयर टोक्यो, नागोया र अन्य थुप्रै अन्तरराष्ट्रिय व्यापार मेलाहरुमा भाग लिनुभएको छ ।  

उहाँको सबल एवं सक्षम नेतृत्वको बलमा ललितपुर चेम्बर अफ कमर्स नेपाल चेम्बर अफ कमर्सको ७२ औं बार्षिक साधारण सभा माझ देशैभरका जिल्लाहरु मध्ये सर्वोकृष्ट बन्दै  पुरस्कृत समेत भएको छ । त्यस्तै उहाँले धार्मिक, व्यापारिक तथा सामाजिक क्षेत्रमा पु¥याउदै आउनु भएको योगदानको सम्म्मानमा विभिन्न संघ संस्था एवम्  प्रतिष्ठानहरुले उहाँलाई कदर पत्र एवम् पुरस्कारबाट विभुषित गर्द ैआएको पाईन्छ ।  

बुद्धका वाणीलाई आफुले सामाजिक मात्रै नभई व्यवसायिक जीवनमा समेत लागु गर्दै आएको बुद्धका असल अनुयायी शाक्य बताउनु हुन्छ ।