News Desk
काठमाडौं,०१ जेठ। सरकारले बैंक तथा वित्तीय क्षेत्रको समस्या समाधान गर्न अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै लग्ने भएको छ। मंगलबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो।
‘वैदेशीक सहायतालाई राष्ट्रिय आवश्यक्ताको क्षेत्रमा परिचालन गरिनेछ। अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपछि प्राप्त हुने अवसर र विविध क्षेत्रमा पर्ने असर र प्रभाव अध्ययन गरी सो अनुरुप नीति कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘नियमन र सुपरीवेक्षणलाई बलियो बनाउँदै वित्तीय क्षेत्रलाई स्वस्थ, भरपर्दो र प्रतिस्पर्धी बनाइनेछ। बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजी बजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव क्रमश सुधार गरिनेछ।’
सरकारले लघुवित्तका ऋणीहरुको कर्जा पुनर्संरचना गर्ने र व्यावसायीक वातावरण निर्माण गरी उद्योगी, व्यापारीको मनोबल बढाउने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।