News Desk
काठमाडौँ l संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको साझेदारीमा अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो, सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने लक्ष्य राखेको छ।
नेपाली हवाई टिकट बजारका लागि यसले नयाँ युगको सुरुवात भएको जनाउँदै शुक्रबार राजधानीमा आयोजित समारोहमा यसको उद्घाटन गरिएको हो। मल्टी एयरलाइन्सले आफ्नो उपस्थितिले हवाई यात्रुलाई अन्तरराष्ट्रिय यात्राका लागि टिकटमा अझै सहजता र सुलभ हुने जनाएको छ।
ट्राभल एजेन्सीहरूलाई संसारभरका धेरै बिलिङ एण्ड सेटलमेन्ट प्लान (बीएसपी) मार्केटसँग जोड्ने जनाइएको छ l
‘यो प्लाटफर्मले ट्राभल एजेन्टहरूलाई ग्लोबल एयरलाइन्स, स्थानीय भाडा र टिकटसँग सम्बन्धित समाधानमा पहुँच पुर्याउन र क्षमता विकासमा मद्दत गर्नेछ’, विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा टिकट कारोबारमा सहज लेनदेन सुनिश्चित गर्नेछ।’ कार्यक्रममा ट्राभल उद्योगका ८० जना व्यवसायी प्रतिनिधि सहभागी थिए।
समारोहमा मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर, स्ट्रिम ट्राभल सर्भिसका प्रबन्ध निर्देशक वैभविक्रम राणा, कन्ट्री म्यानेजर ट्राभलपोर्ट रिजभी रसिदले सम्बोधन गरेका थिए।