चालु आर्थिक वर्षको मूल्यवृद्धि घटयो : नेपाल राष्ट्र बैंक
News Desk
Jul-12 , 2024 तारिख 12:27 बेलुका

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको मूल्यवृद्धि घटेको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४ दशमलव १७ प्रतिशत रहेको हो।

यो मूल्यवृद्धि दर २०७८ भदौयताकै न्यून हो । राष्ट्र बैंकका अनुसार २०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव ४९ प्रतिशतमा झरेको थियो । त्यसपछिका महिनाहरूमा ४ दशमलव १७ प्रतिशतभन्दा माथि रहँदै आएको थियो ।

गत वर्षको जेठमा उपभोक्ता मूल्य वृद्धिदर ६ दशमलव ८३ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव ७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २ दशमलव ९४ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क  १६ दशमलव ०२ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६ दशमलव ९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५ दशमलव ९५ प्रतिशतले बढेको छ ।

घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ५ दशमलव ५१ प्रतिशत घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ४७ प्रतिशत, शिक्षाको ५ दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३ दशमलव ४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ० दशमलव ४८ प्रतिशत र यातायातको ० दशमलव १८ प्रतिशतले घटेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको उपभोक्ता मूल्यवृद्धि दर ४ दशमलव २५ प्रतिशत, तराईको ३ दशमलव ८२ प्रतिशत, पहाडको ४ दशमलव ६३ प्रतिशत र हिमालको ४ दशमलव ७७ प्रतिशत छ ।
अघिल्लो वर्षको सोही महिनामा काठमाडौं उपत्यकाको ७ दशमलव १९ प्रतिशत, तराईको ६ दशमलव ९३ प्रतिशत, पहाडको ६ दशमलव २८ प्रतिशत र हिमालको मूल्य वृद्धिदर ६ दशमलव ३९ प्रतिशत थियो ।