गत आर्थिक वर्षमा नेपालले गर्यो १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात
News Desk
Jul-23 , 2024 तारिख 12:33 बेलुका

नेपालमा एक वर्षको अवधिमा ४५ अर्ब बराबरको खाद्यन्न आयात हुँदा ६ अर्ब रुपैयाँको बासमती चामलमात्रै भित्रिएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । खाद्यान्न आयातबाट २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। 

भारतबाट मात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ। नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिएको छ। 

गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात हुँदा २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ। यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ। यही अवधिमा नेपालबाट १ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै खाद्यान्न निर्यात भएको विभागले जनाएको छ।

एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल नेपाल भित्रिएको छ। नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको छ। विदेशबाट ल्याइएको सुन्तलामात्रै एक वर्षभित्र २० हजार मेट्रिक टन उपभोग गरिएको छ। सरकारले राष्ट्रिय फल घोषणा गरेको सुन्तला खरिदमा १ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ। 

आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असारसम्मको अवधिमा नेपाललाई १४ खर्ब ४० अर्ब ६० करोड ४२ हजार रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ। 

गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गर्दा नेपालबाट १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको निर्यात भएको छ।