भ्रामक समाचारप्रति डेरी एसोसिय​स​न​को ध्यानाकर्षण
News Desk
Aug-01 तारिख 08:00 बेलुका

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले ग्यालेक्सी खबर टिभीले प्रसारण गरेको दुध सम्बन्धी भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

ग्यालेक्सी खबर टिभीले प्रसारण गरेको दुध सम्बन्धी नकारात्मक टिप्पणीले जनमानसमा भ्रम फैलाउने प्रयास गरेको भन्दै ध्यानकार्षण गराएकाे हाे ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनालले एक विज्ञप्ती जारी गर्दै दुध किसानको गोठमा उत्पादन भई उपभोक्ताको ओठसम्म पुग्दा धेरै तह पार गर्ने भएकाले यसमा कुनै पनि मिसावाट नभएकाले उक्त समाचार स्वार्थ राखी प्रकाशित भएकाे बताए ।

समय समयमा, यस्तो संवेदनशील विषयमा नबुझी, निहित स्वार्थ राखी अनावश्यक रूपमा चर्चाका मिडिया र सामाजिक सञ्जालमा बिना प्रमाणका विषयहरू राख्दा समाजमा नकारात्मक सन्देश गएकाे एसाेसिएसनले जनाएकाे छ ।

एसोसिएसनले आम उपभोक्ता, मिडियाकर्मी, र सरोकारवालालाई विश्वास दिलाउँदै भनेको छ,”नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्धपदार्थमा अखाद्य मिसावट छैन र नक्कली दूध पनि यहाँ उत्पादन हुँदैन।”

एसोसिएसनले, यदि कोही कसैले कहीँ गलत प्रक्रिया गरेको पाएमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न आग्रह गरेको छ। यस्तै एसोसिएसनले आम उपभोक्तालाई भ्रममा नपरी नियमित दूध तथा दुग्ध पदार्थ निर्धक्कसँग उपभोग गर्न आग्रह गरेको छ।

प्रेस विज्ञप्ती      

भ्रामक समाचार प्रति नेपाल डेरी एसोसिएसनको ध्यानाकर्षण 
दुध पूर्ण पौष्टिक आहार हो । दूध किसानको गोठमा उत्पादन भई उपभोक्ताको ओठसम्म पुग्दा धेरै तह पार गर्नुपर्ने हुन्छ। दूध आफैं एक संवेदनशील वस्तु हो । दुधलाई पूर्णता दिन कहीँ कतै केही पनि मिसाउनु पर्दैन । समय समयमा यस्तो संवेदनशील विषयमा विषयवस्तु नबुझी, निहित स्वार्थ राखी अनावश्यक रूपमा चर्चाका लागि यथार्थ विहीन रुपमा मिडिया र सामाजिक सञ्जालमा बिना प्रमाणका विषयहरु राखिएका हुन्छन् । यहि क्रममा ग्यालेक्सी खबर टिभीले केही समय अगाडि दूध सम्बन्धी भ्रामक अनावश्यक नकारात्मक टिका टिप्पणी गरी जनमानसमा भ्रम फैलाउने उद्देश्यले प्रसारण गरिएको समाचार प्रति यस एसोसिएसनको ध्यानाकर्षण भएको छ । कसले ? कहाँ ? र कहिले ? यस्तो कार्य गरेको हो भन्ने कुरा नखुलाई समग्र दुग्ध क्षेत्रलाई नै बदनाम हुने गरी समाचार प्रसारण गरिएकोले कोहि दोषी भए एसोसिएसन पनि दोषी उपर कारबाही गर्न तत्पर रहेको कुरा प्रष्ट राख्दै नेपालमा बिक्री वितरण हुने कुनै पनि दूध तथा दुग्धपदार्थमा त्यस्ता खालको अखाद्य मिसावट नभएको र प्रचारप्रसार गरिए जस्तो नक्कली दूध पनि यहाँ हाम्रो देशमा नबन्ने कुरा आम उपभोक्ता मिडियाकर्मी र सरोकारवाला सबैलाई विश्वास दिलाउन चाहन्छौं।  यदि कोही कसैले कहीँ त्यस्तो गलत प्रक्रिया गरेको पाइएमा वा देखेमा सम्बन्धित निकाय वा खाद्य तथा गुण नियन्त्रण विभागमा खबर गर्न समेत नेपाल डेरी एसोसिएसन सबैमा आग्रह गर्दछ । तर स्वदेशी किसान उद्योग र पुरै व्यवसायलाई नै असर पर्ने गरि बिना प्रमाण बदनाम गराउने उद्देश्यले गरिएका त्रियाकलापमा संलग्न जो कोही भए पनि सम्बन्धित निकायले कानुन बमोजिम कारबाही गर्न समेत अनुरोध गरिन्छ । अनावश्यक प्रचारप्रसारले कोही कसैलाई पनि फाइदा नगर्ने र यसले उल्टै स्वदेशी उत्पादनलाई असर पुग्ने हुन्छ । यस्तो गलत गतिविधिले हामी कसैलाई पनि हित गर्दैन। अनावश्यक हल्ला होइन यदि दोषी कोही छ त्यसलाई कार्वाही गर्न तिर लाग्नु पर्छ । यसरी पुरै सेक्टरलाई नै असर पर्ने गरि यस्ता त्रियाकलाप गर्न हुँदैन । गल्ती देखिए वा प्रमाणित भए सिधै दोषी उपर हामी सबै मिलि कारबाही गरौँ । यसले सहि निकास दिन्छ । तर यसरी अनावश्यक रुपले भाइरल हुँदा नकनरात्मक परिणम मात्र आउँछ र अन्त्यमा हामी सबैलाई नै असर पर्ने निश्चित छ । त्यस अर्थ अब आइन्दा बिना प्रमाण हुने पनि कुराको प्रचारप्रसार नगर्न नेपाल डेरी एसोसिएसन अनुरोध गर्न र आम उपभोक्ता सबैलाई भ्रमा नपरी नियमित दूध तथा दुग्ध पदार्थ निर्धक्कसँग उपभोग गर्न अनुरोध गर्दछ । 

हेमचन्द्र खनाल         प्रल्हाद दाहाल 
महासचिव                      अध्यक्ष 
9842658964         9851095127 

मिति: २०८१/०४/१७

 

धेरै पढिएको