कुशल व्यवस्थापनका लागि श्रेष्ठ त्रिवि एलुम्नाई एशोसियसन नेपालबाट सम्मानित (जीवनीसहित)
News Desk
Aug-17 , 2024 तारिख 01:26 बेलुका

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसियसन नेपालबाट सम्मानित हुनुभएको छ ।  उहाँलाई एशोसिएसनले  गत श्रावण २६ गते उक्त सम्मान समर्पण गरेको  हो । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसियसन नेपालको पाचौं साधारण सभा समारोह माझ श्रेष्ठलाई शिक्षा मन्त्री विद्या भट्टराईले  दोसल्ला र सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो । साल्ट  ट्रेडिङ कर्पोरेशन लिमिटेडको उच्च ओहदामा रही उहाँले पुर्‍याउनु भएको योगदानको उच्च  मुल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरिएको एशोसिएसनले जनाएको छ । ‘तपाईले लामो समय देखी उद्योग व्यवसायको क्षेत्र  तथा हाल देशको प्रतिष्ठित संस्था साल्ट  ट्रेडिङ कर्पोरेशन लिमिटेडको उच्च ओहदामा रही पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च  मुल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गर्न पाउदा हामी अत्यन्त गौरन्वान्वित छौँ’ एशोसिएसनका अध्यक्ष प्रदिप कुमार श्रेष्ठद्वारा हस्ताक्षरित सम्मान पत्रमा उल्लेख गरिएको छ ।   

उर्मिला श्रेष्ठको संक्षिप्त परिचय  

चेम्बर आन्दोलनको एक सशक्त नारी हस्ताक्षर हुनुहुन्छ,  उर्मिला श्रेष्ठ । जो नेपाल चेम्बर अफ कमर्शको उपाध्यक्ष, नेपाल महिला चेम्बरको अध्यक्ष साथै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय र जिम्मेवार पदमा रहेर देश र आमनागरिकको सेवामा समर्पित रहदै आउनु भएको छ । नेपाल चेम्बरको ७० औ साधारण सभाबाट चेम्बरको उपाध्यक्षमा निर्वाचित श्रेष्ठ अघिल्लो कार्यकालमा महिला चेम्बरको अध्यक्ष साथै नेपाल चेम्बरको कार्यकारीणी  सदस्य हुनुहुन्थ्यो । नेपाल चेम्बर अफ कमर्शको ७० बर्षको ईतिहासमै पहिलो पटक महिला मध्येमा उपाध्यक्ष जस्तो उच्च मुकाममा पुग्नुभएकी श्रेष्ठले ईतिहासको पानामा आफनो नाम स्वर्णिम अक्षरले लेखाउन सफल हुनुभएको छ । 

त्यसो त  सरकार र निजी क्षेत्रको संयुक्त लगानी माझ संचालित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेर विगत डेढ दशकअघिदेखी नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी उहाँ आँफैमा एक सफल र अब्बल नारी पनि हुनुहुन्छ । साल्ट ट्रेडिङ कर्पोरेशनलाई कुशल व्यवस्थापकिय नेतृत्व प्रदान गर्दै आउनुहुने उहाँले कर्पोरेशनमार्फत प्रवाह हुने सेवालाई छरितो, सर्वसुलभ र भरपर्दो बनाउनुभएको छ । कम मुल्यमा गुणस्तरयुक्त वस्तुको बिक्री वितरण, बजार मुल्य नियन्त्रण, विपद तथा संकटमा समेत सहज आपुर्ती तथा बिक्री प्रबन्धनमार्फत सुदृढ बजार व्यवस्थाका लागि होस् कि सेवा विविधकरणमार्फत औद्योगिक तथा व्यवसायिक कृयाकलापलाई बढवा दिदै देशको अर्थतन्त्र उकास्ने कार्य, यसमा उर्मिला श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । पछिल्लो  समय महिला चेम्बरलाई पनि उस्तै सबल नेतृत्व प्रदान गर्दै आउनु भएकी उहाँले वित्तिय साक्षरता, मेला तथा कला प्रदर्शनी, व्यवसाय प्रबर्धनात्मक तथा उत्प्रेरणामुलक तालिम, अन्तर्कृया आदी जस्ता विविध कार्यक्रमहरु पस्कदै  महिला, युवा लगायतका उद्यमीहरु र समग्र व्यवसाय क्षेत्रको शिर उचो हुने गरि काम गर्नुभएको छ । तसर्थ पनि नेपालमा समकालिन समयमा औंलामा गन्न सकिने सफल महिलाहरुको पंक्तीमा अग्रपंतीमा आउने नाम बनेको छ,उर्मिला श्रेष्ठ ।

त्यसो त उहाँ  युरोपियन ईकोनोमिक चेम्बरको भाईस प्रेसिडेण्ट साथै, ईन्टरनेशनल चेम्बर अफ कमर्सको अन्तराष्टिय कार्य समितिको सदस्य  र अन्य अन्तराष्टिय संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ । तसर्थ पनि सक्षम, कर्मठ, इमान्दार एवम् बौद्धिक नारीको रुपमा चिरपरिचित श्रेष्ठ राष्ट्रियसँगै अन्तरराष्ट्रिय स्तरमा समेत ख्याती कमाउन सफल व्यक्तित्व मध्येमा पर्नुहुन्छ। व्यापारिक पृष्‍ठभुमी बोकेको नेवार कुलमा जन्मनुभएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष स्वर्गिय ईश्वरलाल श्रेष्ठकी सुपुत्री हुनुहुन्छ । पिताजीको पदचापलाई पछयाउदै नेपालको चेम्बर आन्दोलनलाई अघि बढाउने सवालमा उर्मिलाले ईश्वरलाल जस्तै  अब्बलता प्रस्तुत गर्दै आउनु भएको छ।

बदलिदो विश्व परिवेश माझ नेपालमा पनि महिला सशक्तिकरणको सवाल टडकारो रुपमा उठदै आईरहेको सन्दर्भमा श्रेष्ठ नेतृत्वको नेपाल महिला चेम्बरले मुलुक भित्र महिला उद्यमशिलता विकासका लागि ठोस कार्यक्रम पस्कदै महत्वपूर्ण योगदान पुर्याउदै आईरहेको छ । त्यसो त, सामुहिक भावनामा विश्वास राख्नुहुने श्रेष्ठको नेतृत्वमा महिला चेम्बरले गर्दै आएका कार्यहरुको सर्वत्र चर्चा समेत हुँदै आएको छ ।  व्यवसाय, बौद्धिकता र समाजसेवाको  त्रिवेणी मानिने पिता इश्वरलाल र काका माणिकलाल श्रेष्ठ पुस्ताले कोरेको मार्गमा उसैगरि अविछिन्न डटेर लाग्नुभएकी उर्मिला श्रेष्ठ स्वच्छ व्यवसायिकपना, बौद्धिक  जागरण जस्ता स्वाधिन र समाज प्रेरित कार्यमा समेत निकै सकृय हुनुहुन्छ ।