News Desk
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगममा गरेको २७ अर्बभन्दा बढी लगानी जसरी भए पनि उठाउन निर्देशन दिएका छन।
सोमवार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले सरकार ज्ञ्ारेन्टी बसेर दिएको ऋण लगानी भन्दैमा चुप लागेर नबस्न र उठाउन पहल गर्न निर्देशन दिएका हुन।
‘कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ‚ त्यसतर्फ पनि ध्यान दिनुपर्छ। नेपाल वायुसेवा निगममा लगाएको लगानीमा २७ अर्बभन्दा बढी उठ्न बाँकी छ‚’ उनले भने, ‘त्यो रकम उठाउन आफैँ पहल गर्नुहुन्छ वा सरकार ज्ञ्ारेन्टी बसेको छ भनेर बस्नुहुन्छ? अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दीरहेको छ भन्ने कुरा सूक्ष्म ढङ्गले हेर्नुपर्छ।’
उनले कोषले धेरै ठाउँमा गरेको लगानी उठ्न नसकेको भन्दै कोषले गरेको लगानी उठाउन विशेष ध्यान दिनसमेत निर्देशन दिए। उनले सञ्चय कोषले लगानी गरेका सबै ठाउँका लगानीको प्रतिफलबारे समीक्षा गर्न आवश्यक भएको पनि औँल्याए। उनले सरकार ज्ञ्ारेन्टी बसेको छ भनेर मौन नबस्न कोष व्यवस्थापनलाई आग्रह गरे।
उनले नेपाल वायुसेवालगायत अन्य ठाउँमा लगाएको लगानीले कस्तो प्रतिफल दीरहेको छ भनेर सुक्ष्म ढङ्गले अध्ययन गर्न सुझाव दिए। उनले कोषले आफ्नो लगानीको प्रतिफल अझ वृद्धि गर्ने हिसाबले काम गर्नु आवश्यक देखिएको उल्लेख गरे।
उनले सञ्चयकर्ताहरुले अधिकतम लाभ कसरी प्राप्त गर्ने भन्नेतर्फ कोषले ध्यान दिनुपर्नेमा जोड दिए। उनले लगानी गरेर चित्त बुझाउने ढङ्गले नभई सुक्ष्म निगरानी कोषको हित भिक्टिम नहुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे।