News Desk
२०८१ असोज ९ । बुधबार नेपाल डेरी एशोसिएसन तथा राष्ट्रिय दुग्ध विकास बोर्डको संयुक्त आयोजनामा विश्व स्कुल दूध दिवसको अवसर पारेर अन्तर्कृया तथा कार्यशाला सम्पन्न भएको छ । उद्घाटन सत्रसहित शुरु भएको कार्यक्रमको पहिलो चरणमा नेपाल डेरी एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सहकार्यमा “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालको प्रमूख आतिथ्यतामा शुरु भएको उक्त सत्र पस्चात दोश्रो चरणको समापन कार्यक्रम राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा १०औं विश्व विद्यालय दूध दिवस “नियमित दुध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन“ भन्ने नाराका साथ “दुग्ध क्षेत्रको भविष्य, वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या, समाधान र चुनौति“ कार्यक्रमको आयोजना गरियो । उक्त सत्र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको प्रमूख आतिथ्यतामा तथा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्वमा सम्पन्न भयो । जसमा राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, पशुसेवा विभागका योजना प्रमूख डा. सुधिर कुमार सिंह, कृषि उद्यम केन्दका सभापति डि.बि बस्नेत, कृषि उद्यम केन्द्र (उद्योग वाणिज्य महासंघ) उपसभापति राजकुमार कार्की, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर कुँवर, बरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा र महासचिव राम आचार्य, नेपाल डेरी एसोसिएसन पूर्व अध्यक्ष सुमित केडिया, डेरी साईन्स एसोसिएसनका अध्यक्ष सियाराम प्रसाद सिंह, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पदाधिकारीहरु लगायत डेरी उद्योगीहरु सहित पत्रकार महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डेरी उद्योग संघको तर्फबाट अरनिको राजभण्डारी, राष्ट्रिय दुग्ध विकास वोर्डको तर्फबाट अजय पोखरेल र नेपाल डेरी एसोसिएसनको तर्फबाट विषय विज्ञ सुभाष ढकालले प्रस्तुतिकरण दिनुभएको थियो । शिवराम सिंह, अम्बर कुँवर, लाल कुमार के.सी, नरेशलाल श्रेष्ठले प्रस्तुति माथि टिप्पणी गर्नुभएको थियो । समापन समारोहमा आफ्ना विचार राख्दै कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेतले यस्ता किसिमका कार्यक्रमले व्यवसाय भित्र लुकेर रहेका समस्याहरु बहिर आउने र सम्बन्धित निकायहरुलाई समस्या हल गर्न सहयोग पुग्ने बताउनुभयो ।
सो अवसरमा कृषि मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले नेपाल डेरी एसोसिएसनले साताव्यापी कार्यक्रम गरि विश्व स्कुल दुध दिवस मनाई मूख्य दिन सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन मूख्य कार्यक्रम गरि सरोबारवालाहरु बीच दुग्ध क्षेत्रमा रहेका समस्याहरुको पहिचान गरि समाधानको उपायहरु बारे छलफल गरि निश्कर्ष निकाल्ने कार्य गरेकोमा विशेष धन्यवाद दिनुभयो । साथै उहाँले एसोसिएसनले चलाएको मोही अभियानको प्रशंसा समेत गर्नुभयो । सबैले आ–आफ्नो काम सहि तरिकाले गर्दा कहिल्यै कसैलाई पनि असहज नहुने कुरा बताउँदै मन्त्रालयमा आएका हरेक समस्याको समाधान गर्नु आफ्नो कर्तव्य भएको र मन्त्रालय त्यसै अनुसार चल्ने प्रतिवद्धता सचिव मिश्रले व्यक्त गर्नुभयो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले व्यवसायीहरुले आफ्ना समस्याहरु विरामीले डाक्टरलाई बताए झैं सबै नलुकाई भन्दा मात्र समस्या हल गर्न सहज भई सम्बन्धित निकायहरुको साथ र सहयोग रहने उल्लेख गर्नुहुँदै यदि समस्या लुकाएको खण्डमा सहज हुनुको सट्टा असहज हुने कुरा सम्बन्धित निकायले बुझ्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल डेरी एसोसिएसन वस्तुगत सदस्यमा चलायमान संस्था भएको र सधैं आफ्नो व्यवसायको हकहितमा लागि पर्ने संस्था भएकोले आगामी दिनहरुमा पनि यसरी नै आफ्नो कार्य जारी राख्ने कुरामा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो । साथै उहाँले निजि क्षेत्रको तर्फबाट एसोसिएसनलाई गर्नुपर्ने सबै किसिमका सहयोग महासंघका तर्फबाट निरन्तर रहिरहने बताउनुभयो ।