नेपाल राष्ट्र बैंकको पुँजी २० खर्ब ६७ अर्ब
News Desk
Nov-18 , 2024 तारिख 12:25 बेलुका

नेपाल राष्ट्र बैंकको पुँजी २० खर्ब ६७ अर्ब पुगेको छ।

आइतवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमक्ष राष्ट्र बैंकले आव ०८०/८१ को वार्षिक प्रतिवेदन बुझाउँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्षको भन्दा करिब ५ खर्बले पुँजी बढेको बताएका हुन। 

अर्थमन्त्रीलाई वार्षिक प्रतिवेदन बुझाउँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक प्रतिवेदन ३ भागमा रहेको र पहिलो भागमा मुलुकभित्र र विश्व अर्थतन्त्रको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थाको विषयमा उल्लेख भएको बताए।

उनले दोस्रो भागमा नेपाल राष्ट्र बैंकका विभागले गरेका काम कारबाहीहरुको विषयमा उल्लेख गरेको बताए। उनले तेस्रो भागमा राष्ट्र बैंकको ०८०/८१ को वित्तीय अवस्थाको विवरण राखिएको बताए।

राष्ट्र बैंकको आव ०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन २०२४ र २०२५ मा ३।२ प्रतिशत रहने प्रक्षेपण छ। 

अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफद्वारा २०२४ अक्टोबरमा प्रकाशित ‘वर्ल्ड इकोनोमिक आउट लुक’ अनुसार सन २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३।६ प्रतिशत रहेकोमा सन २०२३ मा ३।३ प्रतिशत रहेको छ। 

सन २०२४ मा विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २।६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ७।९ प्रतिशत रहने अनुमान छ। 

सन २०२३ मा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४।६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८।१ प्रतिशत रहेको थियो। 
आव ०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५।४४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७।७४ प्रतिशत रहेको थियो। 

आव ०८०/८१ मा कुल वस्तु निर्यातमा ३।० प्रतिशतले कमी आई १५२ अर्ब ३८ करोड र कुल वस्तु आयातमा १।२ प्रतिशतले कमी आई १५९२ अर्ब ९९ करोड रहेको छ। समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १।० प्रतिशतले घटेर १४४० अर्ब ६० करोड रहेको छ।