सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
News Desk
Nov-30 , 2024 तारिख 12:40 बेलुका

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल भएको छ। 

परीक्षण सफल भएसँगै नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आजसम्ममा आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।

काबेली खोलामा निर्माण भएको सो आयोजनाको विद्युत उत्पादन क्षमता १३।५ मेगावाट छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि शुरु भएको थियो। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको पाँचथरस्थित अमरपुर सब-स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

सिरिजङ्घा-८ याम्फुदिनको राते खोलामा रहेको विद्युत गृहबाट अमरपुर सब–स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेको प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो।  २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ। करिब दुई अर्ब ६३ करोड २९ लाखको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।