"नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको पाँचौं साधारणसभा सम्पन्न "
News Desk
Dec-04 , 2024 तारिख 02:04 बिहान

मंसिर - १७, नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको पाँचौं साधारणसभा "दुग्ध क्षेत्रको उन्नति राष्ट्रको समुन्नति" भन्ने नाराका साथ एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण हमालको प्रमुख आतिथ्यता एवं प्रदेशका अध्यक्ष भुपेन्द्र थापाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कैलाली जिल्लाका अध्यक्ष डम्बर शाहको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष राम कुँवरले गरेका थिए भने कार्यक्रम संचालन सचीव हर्क बहादुर चन्दले गरेका थिए । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री भूपेन्द्र थापाले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने त्यसमा उठेका प्रश्न केन्द्रिय उपाध्यक्ष हमाल र प्रदेश अध्यक्ष थापाले थिएका थिए । 

प्रमुख अतिथि हमालले ७ वटै प्रदेशमा केन्द्रिय साधारणसभा अगाडि साधारणसभा गरिसक्नुपर्ने निर्देशन केन्द्रले गरेकोमा यो सुदूरपश्चिम प्रदेश पहिलो भएकोमा प्रदेश टिमलाई धन्यवाद दिंदै आगामी दिनमा अरु कार्य पनि यो प्रदेश सधैं अगाडि रहने कुरामा आफूले विश्वास लिइएको कुरा बताए ।  प्रदेशमा रहेका समस्याको विषयमा कुरा उठाउँदै हमालले भने "अब छिट्टै धुलो दुध कारखाना बन्ने छ  र दुग्ध उद्योग र किसानका थोरै भए पनि समस्या हल हुने छ" भन्दै प्रमुख अतिथि हमालले हामी दुग्ध क्षेत्रमा लाग्ने सबैलाई राज्यले साथ दिन आवश्यक रहेको र अहिले दुध तथा दुग्ध पदार्थ आयातको कुरा कुनै हालतमा खोल्न नहुने कुरामा जोड दिए । 

जिल्ला अध्यक्ष शाहले कैलाली जिल्लामा धेरै कुरा भएर पनि दुग्ध क्षेत्रमा केहि नभएको जस्तो रहेकोले यस विषयमा सबै सरोकारवाला एक ठाउँमा बसि छलफल गरि राज्यलाई झक्झकाउनु पर्ने कुरा बताए । अन्तिममा सभापति थापाले प्रदेशमा रहेका सबै जिल्लामा समिती बनाउन लागिने र प्रदेश भरिका डेरी उद्योगलाई सदस्य बन्नलाई आग्रह गर्दै आजको भोलि केहि नहुने र गर्दै जाँदा सबै कुरा बिस्तार मिल्दै जाने कुरा बताए । 

सुदूरपश्चिम प्रदेशमा हाल २३ सदस्य रहेको र अब त्यो बढाएर ५० पुर्‍याउने लक्ष्य रहेको छ । सबै जिल्लामा समिति बनाउन सक्दा त्यति सदस्य पुग्न कुनै गार्‍हो पनि नहुने कुरा सचीव चन्दले बताए । सबै कुराको अध्ययन गर्दा यदि राज्यले साथ दिंदा सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको अथाह सम्भावना भएको देखिन्छ ।