News Desk
काठमाडौं, माघ १७ – नेपाल चेम्बर अफ कमर्स र चिरायु नेशनल अस्पतालबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। २००७ सालमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने, चिरायु अस्पतालले २०१३ सालदेखि उच्च गुणस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आएको छ।

सम्झौताअनुसार, नेपाल चेम्बर अफ कमर्सका सदस्यहरूले चिरायु अस्पतालमा २० प्रतिशतसम्म छुटमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। यसका लागि सदस्यताको प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र वा व्यवसायिक लाइसेन्स नम्बर जाँच गरी छुट उपलब्ध गराइने छ।
चिरायु अस्पताल नेपालकै पहिलो ुहाइपर एक्युट स्ट्रोक युनिटु सञ्चालन गर्ने अस्पताल हो, जसमा न्युरोसर्जन, रेडियोलोजिस्ट र स्ट्रोक विशेषज्ञहरू २४र७ सेवा प्रदान गर्छन्। अस्पतालमा ६० भन्दा बढी विशेषज्ञ चिकित्सकहरू कार्यरत छन्, जसमा त्रिवि शिक्षण अस्पतालका प्राध्यापकहरू पनि समावेश छन्।
सम्झौतामा आपत्कालीन अवस्थामा क्यास लेस सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। साथै, जिल्ला चेम्बरहरूका साथमा स्वास्थ्य शिविर आयोजना गर्न दुवै संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौताको अवधि ३ वर्ष तोकिएको छ। माघ १७ गते आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र चिरायु अस्पतालका अध्यक्ष हेम बहादुर गुरुङले हस्ताक्षर गरेका हुन्।
सम्झौतामा स्वास्थ्य समितिका अध्यक्ष मृगेन्द्र मेहर र सीएन वैद्य साक्षी रहेका थिए।