नेपालमा होटल तथा रेस्टुराँको संख्या एक लाख ४२ हजार
News Desk
Jan-02 , 2025 तारिख 11:48 बिहान

नेपालमा होटल तथा रेस्टुराँको संख्या एक लाख ४२ हजार नाघेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलन गरी देशभर होटल तथा रेस्टुराँको संख्या एक लाख ४२ हजार २२३ रहेको जनाएको हो ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा होटल तथा रेस्टुराँको तथ्यांक संकलन गरेको थियो । ती होटल तथा रेस्टुराँमा संलग्न व्यक्तिहरू (व्यवसायी, साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार) को संख्या तीन लाख ८७ हजार ७४७ रहेको कार्यालयले जनाएको छ ।

यस्तै त्यहाँबाट नियमित तलब र ज्याला लिनेगरी रोजगार व्यक्तिहरूको संख्या भने एक लाख ६ हजार ४५९ छ । उनीहरूलाई तलब ज्याला र सुविधामा वार्षिक २० अर्ब ६१ करोड ५० लाख खर्च हुने गरेको तथ्यांकले देखाएको छ ।

सञ्चालनमा रहेका होटल तथा रेस्टुराँहरूको करिब दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्यांक संकलनमा सकेसम्म अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय मापदण्डहरू पूरा गरिएको बताउनुभयो ।

होटल तथा रेस्टुराँमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थाहरूसँग ऋण लिएको देखिएको छ ।

धेरै पढिएको