News Desk
नेपाल सरकारले इलोन मस्कको स्टारलिंक इन्टरनेट सेवा नेपालका लागि हाल ‘अव्यवहारिक’ ठहर गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रारम्भिक अध्ययनपछि स्टारलिंक जस्ता प्रविधिहरूले मुलुकको विद्यमान इन्टरनेट र टेलिकम क्षेत्रमा ठूलो आर्थिक दबाब सिर्जना गर्न सक्ने निष्कर्ष निकालेको छ।
पछिल्ला वर्षहरूमा स्टारलिंक इन्टरनेट नेपालमा सञ्चालन गर्ने सम्भावना चर्चामा रहेको भए पनि मन्त्रालयले हालका संरचना र लगानीलाई ध्यानमा राख्दै यसबारे तत्काल निर्णय नगर्ने संकेत दिएको छ।
केही समयअघि मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कुराकानी गरेपछि स्टारलिंक नेपाल भित्र्याउने सम्भावनाबारे आशंका र चासो बढेको थियो। तर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको परामर्शपछि सरकार स्वयं नै स्टारलिंकका लागि बाटो खोल्न तयार नभएको स्पष्ट भएको छ।
सरकारको यो निर्णयसँगै स्टारलिंक इन्टरनेट नेपालमा सञ्चालन हुने वा नहुने विषय तत्काल टुंगोमा नपुग्ने देखिएको छ।