नेपाल डेरी एसोसिएसनद्वारा कार्यकारी उपाध्यक्ष पौडेललाई स्वागत तथा बधाई
News Desk
Jan-08 , 2025 तारिख 12:52 बिहान

पुस २३, काठमाडौं – बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष हरि प्रसाद पौडेललाई नेपाल डेरी एसोसिएसन केन्द्रिय कार्यालयले एक विशेष समारोहबीच स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका पदाधिकारीहरू तथा दुग्ध क्षेत्रमा संलग्न विशेष व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुग्ध व्यवसायीहरूले कार्यक्रममा राज्यले दुग्ध क्षेत्रप्रति अभिभावकत्वको भूमिका निभाउनु पर्ने विषयमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी उपाध्यक्ष पौडेलले प्रदेश दुग्ध विकास बोर्डले सरकार, किसान, र दुग्ध क्षेत्रको विकासका लागि नीतिगत व्यवस्थासहित विशेष सहुलियतपूर्ण कार्यक्रमहरू लागू गरेर बागमतीलाई नमुना प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्लाका अध्यक्ष जयराम घिमिरे, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे र केन्द्रीय उपाध्यक्ष मनोज घिमिरेले उपाध्यक्ष पौडेललाई बधाई तथा शुभकामना दिंदै दुग्ध क्षेत्रका समस्या र समाधानका सुझावहरू प्रस्तुत गरे।

कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले उपाध्यक्ष पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै कृषक तथा दुग्ध विकासको क्षेत्रमा बोर्डको महत्त्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरे। साथै, दुग्ध क्षेत्रको समग्र विकासका लागि सहकार्यको विकल्प नभएको स्पष्ट पारे।

समारोहमा दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर, र चुनौतीहरूबारे प्रकाश पार्ने ंडेरी दर्पणं पुस्तक तथा वार्षिक क्यालेन्डर एसोसिएसनका अध्यक्ष दाहालले उपाध्यक्ष पौडेललाई हस्तान्तरण गरेका थिए।

नेपाल डेरी एसोसिएसनको आयोजनामा सम्पन्न यो कार्यक्रमले दुग्ध क्षेत्रको विकास र समृद्धि प्रति प्रतिबद्धता दोहोर्याएको छ।