News Desk
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नबढेको बताएका छन।
बुधवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन। उनले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषय सत्य नभएको दाबी गरे।
उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताए। उनले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य नबढेको बताए। उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरूसँग ४–५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताए। उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताए।
उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए। उनले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंज्ञ्ाउने प्रतिबद्धता जनाए। उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताए।
उनले भने‚ ‘पछिल्लोपटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीहरूले सहमति जनाएको अवस्था हो। ४०० मूल्यको सिमेन्ट ८०० भएको सत्य होइन। हाल ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म छ। ५०–७५ प्रतिशत मूल्य वृद्धि भएको भन्ने पनि सत्य हैन।’
मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुंगो लगाउने उल्लेख गरे।