नेपाली कांग्रेसको आयोजनामा माघ १६ र १७ गते "नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय (SMEs) सम्मेलन"
News Desk
Jan-28 , 2025 तारिख 05:23 बेलुका

काठमाडौं : नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा "नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय (SMEs) सम्मेलन" माघ १६ र १७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा सम्पन्न हुँदैछ। कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरणको लक्ष्य राखिएको यो सम्मेलनले स्टार्टअप र साना तथा मझौला व्यवसायको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ।

कार्यक्रमको पहिलो दिन माघ १६ गते बिहान १० बजेदेखि ११:३० बजेसम्म "नेपाली अर्थतन्त्रमा स्टार्टअप र SMEs को भूमिका" शीर्षकमा सत्र हुनेछ। यसमा नारोत्तम अर्याल, डा. चिरञ्जीवी नेपाल, अञ्जन श्रेष्ठ, ज्ञानेन्द्र ढुंगाना, विदूषी राणा, र गौरव पाण्डेले आफ्नो विचार प्रस्तुत गर्नेछन्। त्यस्तै, दिउँसो २:१५ देखि ३:४५ बजेसम्म "कृषि उद्यमशीलता: अवसर र चुनौतीहरू" शीर्षकमा सत्र हुनेछ। यस सत्रमा सुनिता नुमाफुकी, प्रो. डा. भीम श्रेष्ठ, अम्बिका पौडेल, शान्ता बास्कोटा कोइराला, र सिताराम काफ्लेले कृषि उद्यमशीलताको विविध पक्षबारे छलफल गर्नेछन्।

दोस्रो दिन माघ १७ गते बिहान ११:४५ देखि १:१५ बजेसम्म "महिला उद्यमशीलताः समतामूलक आर्थिक विकासको दिशामा" सत्र आयोजना हुनेछ। यसमा आशा थपलियाले सत्र सञ्चालन गर्नेछिन् भने रबिना थापा, समृद्धि ज्ञवाली, निकिता आचार्य, यमुना श्रेष्ठ, र रजनी थापा प्यानलिस्टका रूपमा सहभागी हुनेछन्। त्यसैगरी, दिउँसो २:१५ देखि ३:४५ बजेसम्म "मेरो उद्यमशील यात्रा" शीर्षकको अन्तिम सत्र हुनेछ। यस सत्रमा विमला तुम्खेवा, पुकार मल्ल, लक्ष्मी पाण्डे, सुकुल रसाइली बीके, र टंकनाथ घिमिरेले आफ्नो उद्यमशील यात्राका अनुभव सुनाउनेछन्।

यो सम्मेलनले स्टार्टअप व्यवसाय, महिला उद्यमशीलता, कृषि उद्यमशीलता, र नवीनतम उद्यमशीलताको प्रवर्द्धनमार्फत आर्थिक रुपान्तरणका सम्भावनाहरू उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यक्रम नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागद्वारा आयोजित हो, जसको व्यवस्थापन विभाग प्रमुख उर्मिला थपलिया (सिता) को नेतृत्वमा गरिएको हो। सम्मेलन नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा माघ १६ र १७ गते सम्पन्न हुनेछ।

धेरै पढिएको