नेपाली कांग्रेसको आयोज​नामा नेपाल स्टार्टअप तथा एसएमई सम्मेलन आज​बाट शुरु, उद्यमीहरु उत्साहित आज​बाट​ शुरु
News Desk
Jan-29 , 2025 तारिख 11:26 बेलुका

काठमाडौं, माघ १६। नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालय परिसरमा नेपाल स्टार्टअप तथा साना तथा मझौला व्यवसाय (एसएमई) सम्मेलनको आयोजना गरेको छ। दुई दिनसम्म (माघ १६ र १७) चल्ने यस सम्मेलनमा उद्यमी, व्यवसायी तथा निजी क्षेत्रका विभिन्न सरोकारवालाबीच छलफल हुनेछ।

आज​ सम्मेलनमा नेपाली अर्थतन्त्रमा स्टार्टअप र ष्मैस को भूमिका, कृषि उद्यमशीलता सम्बन्धी अवसर र चुनौतीबारे विशेष सत्र आयोजना गरिएको छ, जसमा कंचनजंगा टी स्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोईरालाले कृषि क्षेत्रको विकास, उद्यमशीलता प्रवर्द्धन तथा समग्र आर्थिक वृद्धिमा व्यवसायमैत्री कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरिन। एनएस एग्रो टेक इन्डस्ट्रीजका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार स्टार्टअप र साना उद्यमहरूको प्रवर्द्धनले मात्रै दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। अन्य व्यवसायीहरूले पनि सरकारबाट आवश्यक नीतिगत सुधार तथा निजी क्षेत्रको लगानी प्रवर्द्धन आवश्यक रहेको बताएका छन।

नेपालको आर्थिक रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस सम्मेलनले लगानी प्रोत्साहन, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, नीति सुधारको वकालत तथा नेपाली कांग्रेस पार्टीको सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। नेपाली कांग्रेसको उद्यमशीलता तथा साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलनको आयोजना गरेको हो।

६ भन्दा बढी मुख्य विषयगत सत्र रहेको सम्मेलनमा ४० भन्दा बढी वक्ताहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन। यस्तै, ८० भन्दा बढी स्टार्टअप तथा एसएमईका स्टलहरू रहने र करिब ६ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मेलन अवधिभर पार्टी कार्यालय परिसरमा स्थानीय रूपमा उत्पादित सामग्रीको प्रदर्शनीसमेत रहेको छ। स्टलहरूमा खानेकुरा, लुगा, स्थानीय जडीबुटी, आईटी तथा फिनटेक स्टार्टअपहरू समेत प्रदर्शनीमा राखिएका छन।

नेपालको उद्यमशीलता तथा एसएमई प्रवर्द्धनका लागि यो सम्मेलन महत्त्वपूर्ण मंच बन्ने अपेक्षा गरिएको छ। यसले नीति निर्माणदेखि लगानी प्रवर्द्धनसम्मको क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

धेरै पढिएको