पैतृक कृषि पेशाबाट व्यापार व्यवसायतर्फको यात्रा
News Desk
Jan-30 , 2025 तारिख 01:19 बेलुका

-हरिराज वाग्ले

म्याग्दे – ७, साँगे, पयेर

नेपालको झण्डै मध्यभागमा अवस्थित साँगे हरियाली वन-जंगल, खोला-नाला, र उर्वर भूमि‌को वरदान पाएको एक सुन्दर ठाउँ हो । आफ्नो जन्म थलो सबैलाई प्यारो र राम्रो लाग्नु स्वभाविक हो, तर पनि भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै कोणबाट बिष्लेषण गर्दा साँगे बस्नलायकको ठाउँ एवम् समाज छ भन्ने मेरो व्यक्तिगत बुझाई छ। साँगेको विगतलाई हेर्ने हो भने पनि तेल, र कपडा बाहेक, जीविकोपार्जनका लागि आवश्यक सबै अन्नपात, फलफूल, पशुपालन जस्ता क्रियाकलापमार्फत यहाँका बासिन्दाहरू आत्मनिर्भर जीवनयापन गर्थे। सालघारी, फौषिङ्ग वन, भोर्ले, मालुङ्गे वनजस्ता ठाउँहरूबाट आएको पत्झर तथा साँगे र पँयेर खोलाको पानीले उर्वर भूमि सिञ्चित गर्दा अम्रेनी, बाह्रविसे, कैंडले, पँयेर, र साँगेफाँटमा मसिनो धान फल्ने गर्थ्यो। गाई-भैंसी पालेर प्रशस्त दूध-भात खान पाउने हुँदा, केही छेत्री र मतुवाली समुदायका लाहुरे बाहेक अधिकांश मानिसहरू बाहिर जानु पर्दैनथ्यो।

शिक्षा भने मूलत: केही सम्पन्न ब्राह्मण परिवारसम्म सीमित थियो। सरकारी जागिर र शिक्षण पेशामा केही व्यक्ति संलग्न भए पनि, बाँकी धेरैजसो परम्परागत कृषि पेशामै आश्रित थिए। जब शिक्षा क्रमशः सबैको पहुँचमा आउन थाल्यो, तब युवा पुस्ताले आधुनिक पेशा र व्यवसायतर्फ ध्यान दिन थाले। जागिर पाउन सहज थिएन। कि त पढाइमा उत्कृष्ट हुनुपर्थ्यो, कि त पहुँच हुनुपर्थ्यो। पञ्चायतकालमा लोकसेवा आयोगको परीक्षा पास गरे पनि, यदि राजनीतिक पृष्ठभूमि शंकास्पद देखियो भने अन्तर्वार्तामै अस्वीकृत गरिन्थ्यो। जागिरको अवसर सिमित थियो । उच्च शिक्षा लिएकाहरुको जोड जागिर खानेमै हुन्थ्यो भने सामान्य पढाई लेखाई भएकाहरु खेती किसानी र  केही युवाहरूले व्यापार-व्यवसाय गर्ने गर्थे । तर, व्यवसाय गर्ने निर्णय सहज थिएन। समाजमा जागिरलाई बढी प्राथमिकता दिइन्थ्यो। विशेषगरी, ब्राह्मण समुदायमा “व्यवसाय भन्दा जागिर” भन्ने धारणा गढेर रहेको थियो। तर, समय परिवर्तन भएसँगै प्राविधिक तालिम लिएका युवाहरूले विभिन्न उद्योग, कलकारखाना, तथा निर्माण क्षेत्रमा सहायक पदमा जागिर पाउन थाले। म पनि जागिरको खोजीमा थिएँ। शिक्षा विभाग, नेपाल राष्ट्र बैंक, र उद्योग विभागका परीक्षाहरू दिएर नाम निकालें, तर पहुँच नपुगेर कतै अस्वीकृत भएँ, कतै अन्तर्वार्तामा नै रोकिएँ। नेपाल राष्ट्र बैंकमा वैकल्पिक सूचीमा पहिलो स्थान हासिल गरें, यद्यपि  जागिर खाने अवसर भने जुरेन। त्यसपछि केही वर्ष प्राविधिक क्षेत्रमा काम गरी, थोरै पूँजी जुटाएर इलेक्ट्रिकल व्यवसाय सुरु गर्ने योजना बनाएँ।

तर, व्यवसाय गर्न पूँजी आवश्यक थियो। घरमा गएर कुराकानी गर्दा पुनः जागिरकै सल्लाह आयो। तर, मैले दृढ निश्चय गरें—"अब जागिर होइन, व्यापार नै गर्छु।" अन्ततः बुबाले साँगेफाँटका जग्गा बन्दकी राखेर केही पैसा जुटाइदिनुभयो। त्यसले मात्र अपुग भएपछि, गाउँकै केही व्यक्तिहरूसँग वार्षिक ३६% ब्याजमा ऋण लिए । यसरी पहिलो पटक पसललाई आवश्यक सामानले भरियो, र व्यवसाय विस्तारको पहिलो पाइला अघि बढ्यो। व्यवसाय राम्रैसँग अघि बढयो । पछि परिवारका सदस्यहरूलाई काठमाडौं ल्याएर राम्रो विद्यालयमा पढाइयो। भवन निर्माण ठेक्का-पट्टामा पनि हात हालियो। भाइ-बहिनीहरूको पढाइ तथा विवाह-दान समेत व्यवसायकै आम्दानीबाट सम्भव भयो। फलस्वरूप, पैतृक सम्पत्ति बेच्नु परेन, र आजसम्म पनि तिनै जग्गा यथावत छन्।

काठमाडौंमा दुईवटा पसल खोल्न सफल भयौं, साथै तनहुँ सदरमुकाम दमौलीमा पनि अर्को पसल खोलियो। यसरी, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म विद्युतिय व्यवसायको सेवा विस्तार गर्न सक्यौं। सुरुका दिनहरूमा साँगेबाट काठमाडौं आउने हामी केही थियौं। अतिथिहरूलाई खाना-बसोबास मात्र होइन, आवश्यक परे ऋण-सहायता समेत दिन सकिन्थ्यो। अहिले धेरैले आ-आफ्नो घर बनाइसकेका छन्, त्यसैले पुरानो अवस्था जस्तो छैन। "व्यापार अपार" भने जस्तै, व्यवसाय राम्रोसँग अघि बढ्न थाल्यो। बहुदल आएपछि विभिन्न पेशागत संघ-संगठनहरू खुले, सदस्यता लिएर सक्रियता देखाउन थालियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारीहरूसँग सम्बन्ध विस्तार हुँदा व्यापार प्रवर्द्धन हुँदै गयो।

इमान्दारिताका साथ व्यवसायमा निरन्तर लाग्दा नेपाल विद्युत व्यवसायी महासंघको कार्यकारिणी सदस्य, कोषाध्यक्ष, सचिव हुँदै, राष्ट्रिय महासचिवको जिम्मेवारी समेत सम्हाल्ने मौका पाएँ। विभिन्न सम्मान, कदर-पत्र तथा पदकहरू प्राप्त गर्दा गर्व महसुस हुन्छ। व्यवसायमार्फत सामाजिक संस्थाहरूमा पनि योगदान गर्ने अवसर पाइयो। राजनीति तथा सामाजिक कार्यमा समेत सक्रियता राख्दै आएको छु। यदि पार्टीले थप जिम्मेवारी दिए, कुशलतापूर्वक वहन गर्न सक्ने आत्मविश्वास अझै छ।

आज साँगेका धेरै युवाहरू पोखरा, चितवन, काठमाडौं तथा सदरमुकाममा आएर किराना पसल, होटल, फर्निचर, इलेक्ट्रिकल व्यवसाय, टेक्निकल सेवा, निर्माण व्यवसाय, प्लम्बिङ, पेन्टिङ, तथा प्रिन्टिङ जस्ता विविध व्यवसायमा संलग्न छन्। वैदेशिक रोजगारमा जानेहरूको संख्या पनि उल्लेख्य छ। मेरा अनुभवले देखाएको छ—"मिहिनेत, लगनशीलता, र इमान्दारिता भए सफल भइन्छ।" व्यापार व्यवसायमा लाग्दा अनैतिक बाटोबाट सम्पत्ति कमाउने चेष्टा कहिल्यै गरिएन् । इज्जतलाई ख्याल राख्दै इमानपूर्वक कमाई गर्ने ध्याउन्नमा लागियो । बेरोजगार युवाहरूलाई रोजगारी दिइयो। राष्ट्रलाई कर बुझाइयो। परिवारका सदस्यहरूको भविष्य सुरक्षित गरियो। समाजमा सेवा गर्न सकियो। यो नै मेरो उपलब्धी हो भन्ने मलाई लाग्छ ।  

"यदि व्यापार व्यवसाय नगरेको भए, परम्परागत कृषि पेशाबाट मात्र यहाँसम्म आइपुग्न सकिँदैनथ्यो होला।" यद्यपि, कृषि पेशाप्रति मेरो ठुलो सम्मान छ । यसको महत्व नकार्नै मिल्दैन् ।भोक मेटाउने नै कृषि पेशाकर्मी हुन । स्वस्थकर खाना र शारीरिक स्वास्थ्यका लागि कृषि नै महत्वपूर्ण छ। तर, नेपालमा शिक्षा, स्वास्थ्य तथा अन्य सेवा-सुविधा केन्द्रित भएकाले बाध्यताले गर्दा मैले साँगे छाडेर बाहिरिनु पर्‍यो ।  

आज पछाडि फर्केर हेर्दा गर्व लाग्छ। साँगेबाट व्यापार व्यवसायमा लागेका सम्पूर्ण साथीभाइहरू पनि निश्चित रूपमा आफ्नो क्षेत्रमा सफल भइरहनुभएको छ। प्राकृतिक प्रकोप, महामारी, हड्ताल जस्ता विशेष कारणबाहेक सबैले राम्रो गरिरहनुभएको छ भन्ने विश्वास छ। व्यवसायिक सफलताको नतिजास्वरूप हाम्रो परिवारको "वाग्ले इलेक्ट्रिकल अर्गनाइजेसन" साँगेका प्रमुख व्यवसायिक संस्थामध्ये अग्रस्थानमा रहेको छ। अन्त्यमा, साँगे खोलाको पवित्र जल, मलाई जन्म दिने बा-आमा, र शिक्षाको ज्योति देखाउने गुरुहरूप्रति हृदयदेखि कृतज्ञता प्रकट गर्दछु। जय उद्यम, जय व्यवसाय!

(लेखक वाग्ले नेपाल विद्युत व्यवसायी महासंघको पूर्व महासचिव हुनुहुन्छ । )

धेरै पढिएको