News Desk
काठमाडौं, माघ १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित आठौं नेपाल चेम्बर एक्स्पो २०२५ को उद्घाटन गर्नुभयो। नेपाल चेम्बर अफ कमर्स र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजित यो एक्स्पो पाँच दिनसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र कृत्रिम बुद्धिमत्ता (एआई) प्रोजेक्टहरू समेटिएको यस एक्स्पोले नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयातलाई मात्र व्यापार मान्न नसकिने भन्दै, उत्पादन र बिक्रीमार्फत देशको आर्थिक विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिनुभयो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले व्यावसायिक वातावरण सुधार गर्न आवश्यक नीतिगत संरचना बनाउँदै लगेको बताउनुभयो। उहाँले एक्स्पोले स्वदेशी उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न यो महत्त्वपूर्ण अवसर रहेको उल्लेख गर्नुभयो।
सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सक्ने वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पूर्वाधार निर्माण, कानूनी संरचनाको सुदृढीकरण तथा नयाँ ऐन निर्माणमार्फत आईटी उद्योगलाई प्रवर्द्धन गर्न सरकार अघि बढेको उल्लेख गर्दै, यस वर्ष मात्र आईटी क्षेत्रबाट देशको जीडीपीमा तीन प्रतिशत योगदान हुने लक्ष्य राखिएको जानकारी दिनुभयो।
एक्स्पोमा नेपालसहित बंगलादेश, भारत, चीन, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशका व्यवसायीहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा हस्तकला, गरगहना, कस्मेटिक्स, इलेक्ट्रोनिक्स, खाद्य पदार्थ, लत्ताकपडा, पुस्तक, अटोमोबाइल, घर सजावट सामग्री, साना तथा घरेलु उद्योगका उत्पादनहरू समावेश छन्। आयोजकहरूले पाँच दिनको अवधिमा कम्तीमा ५०,००० दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेका छन्।
आयोजकले एक्स्पोले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्बन्ध स्थापित गर्न र आफ्नो बजार विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरेका छन्। यसले नेपालको आर्थिक विकास र व्यवसायिक वृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।