News Desk
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, फागुनसम्म कुल निर्यात १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ, जसमा ५७ प्रतिशतको वृद्धि भएको छ। उता, सोही अवधिमा वस्तु आयात ११ खर्ब ४५ अर्ब ५६ करोडमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढेको हो।
नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा प्रशोधित तेल अग्रस्थानमा रहेको छ। भारतले भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थमा भन्सार बढाएपछि नेपालबाट प्रशोधित तेलको निर्यात तीव्र रूपमा उकालो लागेको देखिन्छ। हालसम्म नेपालले ४७ अर्ब ९४ करोडको भटमास तेल र ७ अर्ब ९८ करोडको सूर्यमुखी तेल विदेश निर्यात गरेको छ।
यस्तै, नेपालले ७ अर्ब २१ करोड मूल्यबराबरको गलैंचा, ५ अर्ब ८४ करोडको अलैंची, ३ अर्ब २१ करोडको चिया, ३ अर्ब ३१ करोडको जुस, २ अर्ब ५३ करोडको छुर्पी, ३ अर्ब १३ करोडको फेल्ट, र ६ अर्ब ८७ करोडको स्टिल तथा आइरन निर्यात गरेको छ।
उता, आयाततर्फ, पेट्रोलियम पदार्थको आयात उच्च रहेको छ। चालु आर्थिक वर्षमा हालसम्म १ खर्ब ६२ अर्ब ६६ करोडको पेट्रोलियम पदार्थ आयात भइसकेको छ। यस्तै, बीउ १६ अर्ब ६३ करोड, भटमास तेलको कच्चा पदार्थ ५१ अर्ब ३५ करोड, र सूर्यमुखी तेलको कच्चा पदार्थ २० अर्ब २६ करोडको आयात गरिएको छ।
पछिल्ला वर्षहरूमा स्मार्टफोन आयात पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ। यो आठ महिनाको अवधिमा मात्रै २१ अर्ब ९१ करोडको स्मार्टफोन नेपाल भित्रिएको छ। त्यस्तै, औषधि र त्यसको कच्चा पदार्थ २० अर्ब, स्टिल तथा फलाम ५६ अर्ब ९५ करोड, विद्युतीय कार, जीप र भ्यान ९ अर्ब, र सुन १४ अर्ब ३७ करोडको आयात भएको छ।
चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५७ अर्बको वस्तु आयात र ३१ अर्बको वस्तु निर्यात भएको छ। पछिल्लो केही वर्षयता निर्यातको वृद्धिदर घट्दै गए पनि पछिल्ला तीन महिनायता पुनः सकारात्मक वृद्धि देखिएको भन्सार विभागको विश्लेषणले देखाएको छ।