News Desk
काठमाडौं – एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १८ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने घोषणा गरेको छ। कम्पनीले प्रत्येक कित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरिरहेको छ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडका सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रम क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा सम्पन्न भएको थियो।
२०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको एन.सि. एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले काठमाडौंको टोखा नगरपालिका–८ मा केन्द्रीय कार्यालय स्थापना गरेको छ। कम्पनीले पूर्वी नवलपरासी, गैंडाकोट–१४, नवलपुरमा कारखाना सञ्चालन गर्दै विभिन्न कृषि उत्पादन तथा प्रशोधनका काम गरिरहेको छ।
कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै स्वदेशी कच्चा पदार्थको उपयोगमार्फत च्याउ उत्पादनलाई वृहद् रूप दिन कम्पनीले काम गरिरहेको छ। कम्पनीले ताजा च्याउ उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउन र विदेश निर्यात बढाउने लक्ष्य राखेको छ। यसका साथै, यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला लगायतका औषधिजन्य च्याउ तथा माइसेलियस उत्पादन गरी क्याप्सुल निर्माण तथा निर्यात गर्दै आइरहेको छ।
च्याउ प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग गर्दै कम्पनीले ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम उत्पादन गरिरहेको छ। साथै, गोब्रे च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) समेत उत्पादन गरी किसान तथा व्यवसायिक कृषकलाई आपूर्ति गरिरहेको छ। च्याउको उत्पादनपछि बाँकी रहेको कम्पोष्ट तथा बाँस प्रशोधनबाट निष्कने फोहोरलाई वातावरणमैत्री कोइलामा रुपान्तरण गर्ने प्रविधि कम्पनीले अपनाएको छ।
कम्पनीले च्याउ उत्पादनसम्बन्धी व्यावसायिक तालिम, प्रविधि हस्तान्तरण तथा बीउ-बिजनको आपूर्ति पनि गर्दै आइरहेको छ। साथै, बाँसजन्य उत्पादनको प्रवर्द्धन गर्दै बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का जस्ता सामग्रीको निर्माण तथा बिक्री गर्दै आएको छ।
कृषि उपजका फोहोर पदार्थहरू, जस्तै उखुको भूष, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भूष जस्ता वस्तुहरूको प्रयोग गरेर आधुनिक प्रविधिबाट च्याउ उत्पादन गरिने कम्पनीको रणनीति छ। कम्पनीमा विभिन्न क्षेत्रमा अनुभवी व्यवसायी, च्याउ विशेषज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रबुद्ध व्यक्तित्वहरूको संलग्नता रहेको छ।
कम्पनीको आईपीओ जारी भएसँगै यसको उत्पादन र व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।