"जहाज थप्नुबाहेक अन्य कुनै विकल्प छैन" : म​न्त्री पाण्डे
News Desk
Mar-25 , 2025 तारिख 01:12 बेलुका

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लिजमा नयाँ जहाज थप्ने तयारी भइरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रमा द्रुत परिणाम सुनिश्चित गर्ने गरी सरकारले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।

उनका अनुसार उड्डयन सेवा प्रभावकारी बनाउनका लागि नयाँ जहाज थप्नु अपरिहार्य छ। उनले धेरै देशहरूबाट सीधा उडानका प्रस्तावहरू प्राप्त भएकाले १० वटा वाइडबडी र १० वटा न्यारोबडी जहाज आवश्यक पर्ने बताए। साथै, राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग गर्ने यात्रुको चाप बढ्दा विभिन्न समस्या देखिएको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, "हामी गम्भीर छलफलमा छौं, र जुनसुकै बेला सकारात्मक नतिजा आउनेछ। जहाज थप्नुबाहेक अन्य कुनै विकल्प छैन। १० वटा वाइडबडी र १० वटा न्यारोबडी विमान भएमात्र सहज सञ्चालन सम्भव हुन्छ। अहिले विभिन्न देशहरूबाट प्रत्यक्ष उडानका लागि प्रस्तावहरू आइरहेका छन्।"

उनले लिजमा जहाज भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै उड्डयन क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार नयाँ हवाई नीति ल्याउने तयारीमा रहेको पनि बताए।

त्यसैगरी, विदेशी तथा स्वदेशी एअरलाइन्सहरूबीच टिकट भाडामा देखिएको असमानता हटाउन आवश्यक अध्ययन भइरहेको उनले उल्लेख गरे।

धेरै पढिएको