नेपालमा लोडसेडिङको सम्भावना छैनः कार्यकारी निर्देशक शाक्य
News Desk
Mar-26 , 2025 तारिख 11:46 बिहान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकमा लोडसेडिङको कुनै सम्भावना नरहेको दाबी गरेका छन।

मन्त्रिपरिषद्ले सोमबार साँझ कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई प्राधिकरणको कार्यकारी जिम्मेवारी सुम्पेको थियो। मंगलबार नेपालखबरसँग कुरा गर्दै शाक्यले जनताको घरमा लोडसेडिङ नहुने र डेडिकेटेड फिडर तथा ट्रंकलाइनका बक्यौता समस्याहरू समाधान गरिने बताए।

घिसिङलाई हटाएपछि लोडसेडिङ पुनः सुरु हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला शाक्यले त्यसलाई खण्डन गरे। उनले भने, “पहिले पनि कुलमान सरको कार्यकाल सकिएर म आउँदा लोडसेडिङ हुन्छ भन्ने हल्ला थियो, तर त्यसबेला पनि कुनै समस्या आएन। अहिले झन त्यस्तो अवस्था छैन।”

नेपालमा सुख्खायामका कारण विद्युत उत्पादन घटेको र भारतले रातिको समयमा बिजुली निर्यात नगरेपछि उद्योगहरूमा १२ घण्टासम्म आपूर्ति कटौती गरिएको छ। तर शाक्यले आगामी हप्तादेखि हिमनदी पग्लिएर नदीहरूमा पानीको मात्रा बढ्ने भएकाले उत्पादनमा सुधार हुने बताए।

विद्युत अभावका कारण उद्योगी व्यवसायी बढी प्रभावित भएको स्वीकार्दै उनले रोजगारी सिर्जना गर्ने तथा कर तिर्ने उद्योगहरूलाई प्राथमिकता दिने योजना रहेको बताए। “उद्योगलाई बढी बिजुली उपलब्ध गराउन उपयुक्त विकल्प खोज्नेछौं,” उनले भने।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादबारे बोल्दै शाक्यले निष्पक्ष निर्णय हुने दाबी गरे। “म यसअघि यो विषयमा संलग्न नरहेको हुनाले समस्या समाधान गर्न सजिलो हुनेछ,” उनले थपे।

कार्यकारी निर्देशकका रूपमा औपचारिक पत्र नपाए पनि शाक्यले व्यवस्थापन सुधार गरेर सकारात्मक परिणाम दिने प्रतिबद्धता जनाए।

धेरै पढिएको